इरानविरुद्धको युद्ध अन्त्य गर्न इरानले अघि सारेका सर्तबारे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जानकारी गराएको क्रेमलिनले जनाएको छ । रुसी सञ्चारमाध्यमका अनुसार यो विषय पुटिनले ट्रम्पसमक्ष पुर्याएका हुन् ।
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभका अनुसार इरानी राष्ट्रपतिसँग समन्वय गरेर पुटिनले द्वन्द्व समाधानका सम्भावित उपायबारे इरानको धारणा ट्रम्पसमक्ष प्रस्तुत गरेका छन् । इरानले युद्ध रोक्नका लागि के–कस्ता सर्त राखेको छ भन्ने विषयमा पुटिनले जानकारी दिएको क्रेमलिनको भनाइ छ ।
डिजेल निर्यातको सहमति
यसैबीच ट्रम्पले शुक्रबार आगामी केही महिनामा रुसलाई १० लाख टनभन्दा बढी डिजेल निर्यात गर्न दिने सहमति पुटिनसँग भएको घोषणा गरेका छन् । अमेरिकाले रुसमाथि प्रतिबन्ध लगाएको अवस्थामा पनि यस्तो सहमति भएको उनले बताएका छन् ।
अमेरिका र इजरायलले इरानमाथि गरेको युद्धका कारण विश्व बजारमा इन्धनको मूल्य तीव्र रूपमा बढेको छ । विश्वव्यापी रूपमा इन्धनको मूल्य घटाउने उद्देश्यले आफूले रुसलाई डिजेल निर्यात गर्न दिने सहमति गरेको ट्रम्पको भनाइ छ ।







