मुख्य सामग्रीमा जानुहोस्

भोटेकोशी बाढीः विपद् व्यवस्थापन संयन्त्र परिचालन गर्न सरकारलाई रास्वपाको आग्रह

रास्वपाले भोटेकोशी बाढीले रसुवा र नुवाकोटमा पुर्‍याएको क्षति तथा मुग्लिन हुँदै चितवनसम्म पर्न सक्ने चेतावनीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पार्टीले जोखिमपूर्ण तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सर्न र…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
भोटेकोशी बाढीः विपद् व्यवस्थापन संयन्त्र परिचालन गर्न सरकारलाई रास्वपाको आग्रह
Online Khabar

काठमाडौं, १० भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा र नुवाकोटका तटीय क्षेत्रमा पुगेको क्षतिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बाढी पूर्वानुमान शाखाले मुग्लिन हुँदै चितवनसम्म बाढीको सघन असर पुग्न सक्ने चेतावनी दिएको छ, जसलाई पार्टीले गम्भीरताका साथ लिएको छ।

रास्वपा महामन्त्री विपिनकुमार आचार्यले विज्ञप्ति जारी गर्दै त्रिशूली नदी र यससँग जोडिएका तटीय क्षेत्रहरू उच्च जोखिममा रहेको भन्दै सम्भावित मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सरकार, स्थानीय प्रशासन र आम नागरिकको ध्यानाकर्षण गराएका छन्।

विज्ञप्तिमार्फत् रास्वपाले बाढी पूर्वानुमान शाखाको प्राविधिक सल्लाहलाई तत्काल कार्यान्वयन गर्न र विपद् व्यवस्थापनका सबै संयन्त्र उच्च सतर्कताका साथ परिचालन गर्न नेपाल सरकारको ध्यानाकर्षण गराएको छ। साथै, जोखिमयुक्त नदी किनारका बस्तीका बासिन्दालाई सुरक्षित ठाउँमा सार्ने काम राज्यको उच्च प्राथमिकतामा पर्नुपर्ने पार्टीको भनाइ छ।

विपद्को संवेदनशील घडीमा नदी किनार र जोखिमपूर्ण तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई संयमता अपनाउँदै तत्काल सुरक्षित र उच्च स्थानमा सर्न पनि रास्वपाले अपिल गरेको छ। अवस्था सामान्य नभएसम्म अत्यावश्यकबाहेक नदी तटीय सडकमा कुनै पनि यात्रा नगर्न आग्रह गरिएको छ।

आपतकालीन अवस्था सिर्जना भएमा तत्काल नेपाल प्रहरीको टोल फ्री नम्बर १०० वा आपतकालीन नम्बर १२३४ मा सम्पर्क गर्न पनि पार्टीले सूचित गरेको छ। साथै, जोखिममा परेका नागरिकको सुरक्षित उद्धार र पूर्वतयारीका काममा स्थानीय प्रशासनसँग प्रभावकारी समन्वय गरी सक्रिय रूपमा जुट्न पार्टीका सम्पूर्ण सदस्यहरूलाई निर्देशन दिइएको छ।