बुधबार रसुवागढी, भोटेकोशी नदी र त्यसका तल्लो तटीय क्षेत्रमा ठूलो बाढी आएको छ। हिमपहिरोका कारण नदीको बहाव रोकिएर एक्कासि ठूलो मात्रामा पानी तलतिर बगेको हुनसक्ने प्रारम्भिक आकलन गरिएको छ।
अन्तर्राष्ट्रिय एकीकृत विकास केन्द्र (इसिमोड) का विपद् जोखिम न्यूनीकरण विज्ञ शास्वत सन्यालका अनुसार लेन्दे खोलामा चौध महिनाभित्र दुई पटक भीषण बाढी आइसकेको छ। उनका अनुसार यसपटक पनि हिमपहिरोका कारण नदी थुनिएर ठूलो पानीको बहाव तलतिर आएको हुनसक्छ, तर थप विवरण आएपछि मात्रै यो पुष्टि हुनेछ।
इसिमोडकै जलवायु तथा वातावरणीय जोखिम प्रमुख स्याङ्गोङ झाङले गत वर्षको रसुवा बाढीले तहसनहस पारेको सोही क्षेत्र फेरि जोखिममा परेको बताएका छन्। गत ८ जुलाई २०२५ मा प्युरेपु हिमनदी क्षेत्रको विशाल सुप्राग्लेसियल हिमताल विस्फोट भएसँगै नेपाल–चीन सीमापार विनाशकारी बाढी आएको थियो। त्यस घटनामा ११ जनाको मृत्यु र १९ जना बेपत्ता भएका थिए।
सोही बाढीले नेपाल–चीन जोड्ने पूर्वाधारमा पनि ठूलो क्षति पुर्याएको थियो। तिब्बतमा हुने हिमताल तथा हिमनदीसम्बन्धी घटनाको असर नेपालसम्म कति छिटो र कति विनाशकारी रूपमा आइपुग्न सक्छ भन्ने यसले देखाएको थियो।
लेन्दे खोलामा आएको नयाँ बाढी हिमपहिरोका कारण भए पनि त्यसको पुष्टि हुन बाँकी रहेको र नेपाल–चीन सीमास्थित नदीको माथिल्लो भागमा अवरोध कायमै रहेकाले दोस्रो पटक बाढी आउन सक्ने आकलन गरिएको छ। बाढीका कारण सो क्षेत्रमा ठूलो जनधनको क्षति भएको जनाइएको छ।







