१० भदौ, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का प्रमुख कार्यकारी अधिकृत सञ्जोग गुप्ताले नेपाली क्रिकेटको भविष्यबारे आशावादी धारणा राखेका छन्। रोयटर्ससँगको कुराकानीका क्रममा उनले नेपाल अफगानिस्तान वा न्युजिल्यान्डकै तहमा पुग्ने सम्भावना रहेको बताए। नेपाल शीर्ष तहसम्म पुग्ने अर्को एसोसिएट सदस्य राष्ट्र हुन सक्ने उनको विश्वास छ।
नेपाली क्रिकेटको प्रदर्शन स्तर द्रुत गतिमा सुधार भइरहेको गुप्ताले उल्लेख गरे। नेपालले उत्कृष्ट खेलाडीको समूह विकास गरेको र त्यस समूहले आईसीसीका विभिन्न प्रतियोगिता तथा मार्गमार्फत् निरन्तर प्रगति गरिरहेको उनको भनाइ छ। नेपाली खेलाडीले विश्व मञ्चमा आफ्नो योग्यता प्रमाणित गर्दै गएको उनले बताएका छन्।
आईसीसीले नेपालको क्रिकेट विकासका लागि पछिल्ला दुई वर्षमा करिब ५० लाख अमेरिकी डलर लगानी गरेको छ। त्यसैगरी, आगामी वर्ष हुने यू–१९ महिला विश्वकपको सह–आयोजनाको अधिकार पनि नेपालले पाएको छ।
नेपालसँग ठूलो र अत्यन्तै उत्साहित फ्यानबेस रहेको गुप्ताले बताए। कुनै पनि खेलका लागि यो नै सबैभन्दा ठूलो सम्पत्ति भएको उनको भनाइ छ। आजका समर्थक नै भावी खेलाडी बन्ने उनले समेत उल्लेख गरे।
सन् २०१४ मा पहिलोपटक टी–२० विश्वकपमा छनोट हुनु नेपालको क्रिकेट यात्रामा एउटा निर्णायक क्षण थियो। भारत, पाकिस्तान र श्रीलंकाजस्ता क्रिकेटका शक्तिशाली राष्ट्रको सान्निध्यमा रहँदा नेपालले लामो समय अरूकै खेल हेरेर बस्नुपरेको थियो। सन् २०१८ मा एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता प्राप्त गरेपछि भने नेपालमा क्रिकेटको लोकप्रियता उल्लेखनीय रूपमा बढेको हो।







