काठमाडौं — अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को टी–२० वरियतामा नेपाली पुरुष राष्ट्रिय टोली दुई स्थान माथि उक्लिएको छ । २०औँ एसियाली खेलकुदअन्तर्गत शुक्रबार टेष्ट टोली अफगानिस्तानलाई ५ विकेटले पराजित गरेपछि आइसीसीले ताजा वरियता सार्वजनिक गर्दा नेपाल १६औँ स्थानबाट १४औँ स्थानमा पुगेको हो ।
नेपालसँगको पराजयले अफगानिस्तानको वरियतामा भने गिरावट आएको छ । उक्त टोली नवौँ स्थानबाट दशौँ स्थानमा झरेको छ ।
शुक्रबारको खेलमा नेपालले ब्याटिङ र बलिङ दुवै विधामा उत्कृष्ट प्रदर्शन गरेको थियो । यही जितपछि एसियाली खेलकुदको क्रिकेट प्रतियोगितामा नेपालको क्वार्टरफाइनल पुग्ने सम्भावना बलियो बनेको छ ।
समूह चरणको अन्तिम खेलमा नेपालले शनिबार आयोजक जापानविरुद्ध खेल्ने तालिका छ ।







