उपल्लो मुस्ताङको उच्च हिमाली भेगमा हिमताल र सम्भावित बाढीको जोखिम पत्ता लगाउन स्थलगत तथा ड्रोनबाट अनुगमन थालिएको छ। अहिलेसम्म जाँच गरिएका ठाउँहरूमा तत्काल कुनै खतराको सङ्केत नभेटिएको अधिकारीहरूको भनाइ छ।
भोटेकोशीमा आएको बाढीपछि उपल्लो मुस्ताङका उच्च हिमाली क्षेत्रमा विपद् जोखिम पहिचान र तयारीका कामलाई तीव्र पारिएको हो। जिल्ला प्रशासन कार्यालय मुस्ताङको समन्वयमा सशस्त्र प्रहरी बल नेपालको बीओपी नेचुङ, नेपाल प्रहरी, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङ र संरक्षण क्षेत्र व्यवस्थापन समितिको संयुक्त टोलीले कालीगण्डकी नदी प्रणालीका मुहान र अग्ला पर्वतीय क्षेत्रको निगरानी गरिरहेको छ।
एक्याप लोमान्थाङका प्रमुख उमेश पौडेलका अनुसार पहिलो चरणमा नेपाल–चीन सीमानजिकै रहेका १८ र १९ नम्बर सीमास्तम्भ आसपास कालीगण्डकी नदी प्रणालीका दुई मुहानको स्थलगत र ड्रोनबाट निरीक्षण गरिएको थियो। त्यहाँ हिमपातको अवस्था र सम्भावित जोखिमको आकलन गरिएको, तर हाल कुनै जोखिम नदेखिएको उनले बताए।
दोस्रो चरणमा लोमान्थाङ माथिको उच्च पर्वतीय क्षेत्रमा पर्ने घ्याकरछु तालको निरीक्षण गरिएको छ। समुद्री सतहबाट करिब पाँच हजार पाँच सय ५० मिटर उचाइमा रहेको सो क्षेत्रमा ड्रोनबाट हेर्दा हिमनदीका थुप्राहरू देखिए पनि तत्काल खतराको सङ्केत नभेटिएको पौडेलले जानकारी दिए।
अब लोमान्थाङको चुमजुङमाथिको छुआमा पिकको शिर र लोघेकर दामोदरकुण्ड–१ चराङमाथिको पर्वतीय क्षेत्रमा कालीगण्डकी नदी प्रणालीको अनुगमन गर्ने योजना छ। जीपीएसका आधारमा ती ठाउँमा हिमताल रहेको देखिएकाले स्थलगत निरीक्षण गर्न लागिएको पौडेलको भनाइ छ।
गत वर्ष चुमजुङमाथिको छुआमा पिकबाट कालीगण्डकी नदी प्रणालीमा लेदोसहितको बाढी आएपछि स्थानीय क्षेत्रमा जोखिम थपिएको थियो। हिमताल फुट्ने, हिमपहिरो जाने वा बाढी आउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै नदीका मुहान र संवेदनशील ठाउँको नियमित अनुगमन जारी राख्ने एक्यापले जनाएको छ। साथै सम्भावित विपद् पहिचान, पूर्वचेतावनी र प्रभावकारी प्रतिकार्यका लागि उच्च हिमाली क्षेत्रमा अनुगमन र विपद् तयारीलाई अझ सुदृढ बनाइने भएको छ।







