मुख्य सामग्रीमा जानुहोस्

कृष्णभीरको भासिएको सडक छल्दै माथिबाट नयाँ ट्र्याक खोल्न थालियो

बाढीले धादिङको कृष्णभीरमा पृथ्वी राजमार्गको सडक भासिएपछि अवरुद्ध आवागमन सुचारु गर्न माथिबाट नयाँ ट्र्याक खन्न थालिएको छ। करिब ७० मिटर सडक त्रिशूली नदीमा खसेको छ। नयाँ ट्र्याक करिब १०–१५ दिनमा खुल्ने मलेखु–मुग्लिन सडक…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:eKantipur
कृष्णभीरको भासिएको सडक छल्दै माथिबाट नयाँ ट्र्याक खोल्न थालियो
eKantipur

धादिङको कृष्णभीरमा गत आइतबार बाढीका कारण पृथ्वी राजमार्गको सडक भासिएर त्रिशूली नदीमा खसेको थियो। बाढीले पुर्‍याएको क्षतिपछि अवरुद्ध बनेको आवागमन सुचारु गर्न भासिएकै ठाउँको माथिल्लो भित्ताबाट नयाँ ट्र्याक खोल्ने काम सुरु गरिएको छ। सडक विभागले भासिएको खण्डलाई छल्दै माथिबाटै ट्र्याक बनाएर पृथ्वी राजमार्ग सञ्चालनमा ल्याउने योजना अघि सारेको हो।

विभागको योजनाअनुसार बिहीबारदेखि कृष्णभीर वरपरका रुखहरू काटेर हटाउने कामसमेत थालिएको छ। भासिएको सडकभन्दा माथिको भित्ताबाटै नयाँ ट्र्याक खोलिने विभागले जनाएको छ।

कृष्णभीर पुगेकी मलेखु–मुग्लिन सडक आयोजना प्रमुख सजना अधिकारीले भासिएको क्षेत्रभन्दा माथिबाट नयाँ ट्र्याक विस्तार गर्ने काम थालिएको जानकारी दिइन्। उनका अनुसार अहिले रुख कटानको चरण छ र करिब १० देखि १५ दिनमा ट्र्याक खोल्ने गरी काम अघि बढाइएको छ। भासिएको ठाउँलाई पन्छाएर माथिल्लो भित्ता काट्दै बनाइने ट्र्याकलाई पृथ्वी राजमार्गमै जोडिने उनले बताइन्।

बाढीले कृष्णभीरमा करिब ७० मिटर सडक भासिएर त्रिशूली नदीमा खसालेको छ भने करिब १२० मिटर लामो सडक खण्ड चर्किएर जोखिमपूर्ण अवस्थामा रहेको बताइएको छ।

सडक भासिएयता कृष्णभीर खण्डमा पाँच दिनदेखि सवारी आवागमन पूर्णरूपमा ठप्प छ। राजधानी काठमाडौंको लाइफलाइन मानिने यो मार्ग अवरुद्ध हुँदा दैनिक १२ हजार सवारीसाधन ओहोरदोहोर गर्ने प्रयोगकर्ता वैकल्पिक सडकतिर मोडिएका छन्।

सडक विभागले तत्कालका लागि कृष्णभीर खण्डलाई नै सञ्चालनमा फर्काउने र दीर्घकालीन रूपमा वैकल्पिक राजमार्गहरू प्रयोग गर्ने गरी अध्ययन भइरहेको जनाएको छ। हाल हेटौंडा–नौबिसे र फिस्लिङ–बेनीघाट जोड्नेलगायत वैकल्पिक सडकहरू प्रयोगमा ल्याइएका छन्।