नेपाली कांग्रेस बैतडीको पञ्चेश्वर गाउँपालिका कार्यसमितिले पार्टी पूर्ण रूपमा एकढिक्का नभएसम्म वडा र पालिका तहको अधिवेशन नगर्ने निर्णय गरेको छ । शनिबार बसेको कार्यसमिति बैठकले सो निर्णय सर्वसम्मत रूपमा पारित गरेको हो ।
बैठकको निर्णय पुस्तिकामा पार्टी पूर्णरूपमा एकढिक्का भएर नआएको अवस्थामा कुनै पनि तहको अधिवेशन नगर्ने निर्णय सर्वसम्मतिले पारित गरिएको उल्लेख छ ।
पार्टी पूर्ण रूपमा एकढिक्का नभएसम्म कुनै पनि तहको अधिवेशन नगर्ने निर्णय बैठकले सर्वसम्मतिले पारित गरेको छ ।
पालिका सभापति रमेशबहादुर चन्दले कार्यसमिति बैठकबाट पार्टी एकढिक्का नभएसम्म कुनै पनि तहको अधिवेशन नगर्ने निर्णय भएको प्रतिक्रिया दिए । उनका अनुसार बैठकमा चार वडाका सभापति, २०७९ र २०७४ को स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार बनेका नेता तथा केही क्रियाशील सदस्य सहभागी थिए ।
‘१ र २ नम्बर वडाको प्रतिनिधित्व थिएन । ३, ४, ५ र ६ का वडा सभापतिजीहरू हुनुहुन्थ्यो । दुई–चार जना अन्य क्रियाशील सदस्यहरू थिए,’ सभापति चन्दले भने, ‘०७९ र ०७४ का उम्मेदवार थिए । बैठकमा बोलाएको पति त्यत्ति हो । निर्णय सर्वसम्मत गर्यौं ।’
महाधिवेशनको दुई कार्यतालिका
कांग्रेसको १५औं महाधिवेशनका लागि संस्थापन र संस्थापन इतर समूहले छुट्टाछुट्टै कार्यतालिका सार्वजनिक गरेका छन् । संस्थापन पक्षले असोज ३ र ४ गते वडा अधिवेशन गर्ने तयारी अघि बढाएको छ ।
यसैगरी पूर्वसभापति शेरबहादुर देउवा नेतृत्वको समूहले आगामी असोज १५ मा वडा अधिवेशन गर्ने कार्यतालिका तय गरेको छ । फरक–फरक कार्यतालिकाका कारण पार्टीभित्र अधिवेशनको तयारी अन्योलमा परेको छ ।
शुक्रबार मात्रै कांग्रेसका दुई दर्जन नेताहरूले अपिलमार्फत दुवै समूहलाई कार्यतालिका स्थगित गरेर एकताका लागि वार्ता गर्न आग्रह गरेका थिए । पञ्चेश्वर कार्यसमितिको निर्णयलाई सोही एकता र वार्ताको सन्दर्भसँग जोडेर हेरिएको छ ।







