रसुवाको भोटेकोशी नदीको बाढीले बगाएका गरगहना फेला पारेर नियतवश लुकाएर राखेको आरोपमा धादिङबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार धादिङको गजुरी गाउँपालिका–६ बन्छेटारका ३५ वर्षीय रामबहादुर तामाङ पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार गएको १० भदौमा आएको बाढीमा नुवाकोटको विदुर नगरपालिका–१ त्रिशूली बजारमा लिलाबहादुर बोगटीको घर बग्दा घरमा रहेका गरगहना पनि बगेका थिए । बगेका ती गरगहना भोलिपल्ट ११ भदौमा तामाङले फेला पारेको र नियतवश लुकाउन खोजेको सूचना प्राप्त भएको प्रहरीले जनाएको छ ।
गहना धनीले खबर गरेपछि पक्राउ
आफ्ना गरगहना फेला परेको विषय गहना धनी बोगटीले थाहा पाएपछि उनले प्रहरीलाई खबर गरेका थिए । सोही सूचनाका आधारमा धादिङको आदमघाट अस्थायी प्रहरी पोस्टबाट खटिएको प्रहरी टोलीले गरगहनासहित तामाङलाई पक्राउ गरेको धादिङ प्रहरीले जनाएको छ ।
बरामद भएका गरगहनामा सुनको जस्तो देखिने तीन थान बाला, दुई थान झुम्का, दुई थान सिक्री, दुई थान औँठी र दुई थान मंगलसूत्र तथा चाँदीको जस्तो देखिने दुई जोर पाउजु रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।







