मुख्य सामग्रीमा जानुहोस्

फ्रान्समा १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालबाट रोक्न नयाँ कानूनी प्रस्ताव, आगामी वर्ष लागू हुने अपेक्षा

फ्रान्स सरकारले १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न रोक लगाउने नयाँ कानूनी प्रस्ताव अघि बढाएको छ। राष्ट्रपति इमानुएल म्याक्रोनले परिमार्जित मस्यौदाबारे युरोपेली आयोगलाई जानकारी गराइएको र प्रतिबन्ध आगामी…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
फ्रान्समा १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालबाट रोक्न नयाँ कानूनी प्रस्ताव, आगामी वर्ष लागू हुने अपेक्षा
Online Khabar

फ्रान्स सरकारले १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न रोक लगाउने नयाँ कानूनी प्रस्ताव अघि सारेको छ । राष्ट्रपति इमानुएल म्याक्रोनले सोमबार परिमार्जित मस्यौदाबारे युरोपेली आयोगलाई जानकारी गराइसकिएको बताउँदै सो प्रतिबन्ध आगामी वर्ष लागू हुने अपेक्षा व्यक्त गर्नुभएको छ ।

पेरिसबाट प्राप्त जानकारीअनुसार यसअघि बनेको कानून संवैधानिक परिषद्ले खारेज गरेपछि सरकारले कानूनी तथा प्राविधिक सुधार गरेर नयाँ मस्यौदा तयार पारेको हो । संवैधानिक परिषद्ले गत अगस्टमा उक्त कानूनका केही प्रावधानले नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि आवश्यकभन्दा बढी हस्तक्षेप गरेको ठहर गर्दै ती प्रावधान बदर गरेको थियो ।

सामाजिक सञ्जालको प्रयोगले बालबालिका तथा किशोरकिशोरीमा पर्न सक्ने नकारात्मक असर रोक्ने विषय म्याक्रोनको प्रमुख प्राथमिकतामध्ये एक रहेको छ । आफ्नो राष्ट्रपति कार्यकाल सकिनुअघि नै यो व्यवस्था कार्यान्वयनमा आउने उहाँको अपेक्षा छ ।

युरोपभर समान व्यवस्थाको आग्रह

युरोपेली सङ्घका अन्य सदस्य राष्ट्रमा पनि बालबालिकालाई सामाजिक सञ्जालको जोखिमबाट जोगाउने समान प्रावधान लागू गर्न म्याक्रोनले आग्रह गर्दै आउनुभएको छ । नयाँ प्रस्ताव युरोपेली सङ्घको कानूनसँग मेल खान्छ वा खाँदैन भन्ने सुनिश्चित गर्न आयोगलाई जानकारी दिइएको हो ।

यसै साता ब्रसेल्समा हुने सम्बोधनमा युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले बालबालिकाका लागि युरोपेली सङ्घभर सामाजिक सञ्जालमा लगाउन सकिने सम्भावित प्रतिबन्धबारे आफ्नो धारणा सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।

बालबालिकामाथि सामाजिक सञ्जालको नकारात्मक प्रभावबारे चिन्ता बढेसँगै विभिन्न देशले यसको पहुँच सीमित गर्ने कदम चालिरहेका छन् ।