प्रतिनिधि सभाको मंगलबारको बैठकमा नेकपा (एमाले) संसदीय दलका उपनेता पद्माकुमारी अर्यालले रसुवाको भोटेकोशी बाढीपछिको राहत, खोज, उद्धार, पुनर्निर्माण र पुनःस्थापनाका लागि उच्चस्तरीय संसदीय समिति गठन गर्न माग गरेकी छिन्।
बैठकमा बोल्दै उपनेता अर्यालले राहत, खोज, उद्धार र पुनर्निर्माणका भइरहेका कामलाई गति दिन सरकार तथा अन्य पक्षले विदेशी सहयोगसमेत समयमै परिचालन गर्ने पहल गर्न नसकेको टिप्पणी गरिन्।
पुनःस्थापनाको काम अघि बढाउन राजनीतिक दल, स्थानीय तह, समुदाय र विभिन्न समूहलाई परिचालन गर्नुपर्ने उनको भनाइ थियो। भूकम्पपछिको पुनःनिर्माणमा संकलित अनुभवलाई ध्यान दिन आग्रह गर्दै अर्यालले यस्ता काममा आफूहरू सरकारसँग हातेमालो गर्न तयार रहेको स्पष्ट पारिन्।
स्वायत्त निकायको सुझाव
पुनःनिर्माणलाई द्रुत गतिमा अघि बढाउन स्वायत्त तथा अधिकारसम्पन्न विशेष निकाय (प्राधिकरण) गठन गर्न र अन्तर्राष्ट्रिय समुदायको सहयोग लिन उनले सुझाव दिइन्। जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको क्षति र यसमा पाउनुपर्ने न्यायका विषयमा सशक्त आवाज उठाउन पनि उनले आग्रह गरिन्।
यसैगरी बजारमा खाना पकाउने ग्यासको अभाव र मूल्यवृद्धिबारे अर्यालले सरकारको ध्यानाकर्षण गराइन्।







