काठमाडौं — एमालेका केन्द्रीय सदस्य गोकुल बाँस्कोटाले पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको प्रतिवेदन र त्यसमा समेटिएको आत्मालोचनालाई सकारात्मक रूपमा लिनुपर्ने बताएका छन्। ललितपुरमा जारी पार्टीको केन्द्रीय कमिटी बैठक सकिएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रतिवेदन सैद्धान्तिक दृष्टिले सही भए पनि त्यसको वास्तविक सफलता व्यवहारमा कार्यान्वयन हुनु वा नहुनुमा निर्भर रहने बताए।
अध्यक्ष ओलीले विगतका कमजोरीहरू महसुस गरेर पेस गरेको प्रतिवेदन ढिलो भए पनि स्वागतयोग्य रहेको नेता बाँस्कोटाको भनाइ छ। उनका अनुसार विगतको समीक्षा गर्दै आत्मालोचनासहितको प्रतिवेदन ल्याउनु आफैँमा सुधारको पहिलो संकेत हो, तर त्यस्ता प्रतिबद्धता कागजमा मात्र सीमित रहनु हुँदैन, व्यवहारमा प्रमाणित हुनुपर्छ। प्रतिवेदनमा उठाइएका विषय कार्यान्वयन भएको अवस्थामा मात्र त्यसको अर्थ रहने उनले औँल्याए।
नेतृत्व हस्तान्तरणको बहस
पार्टीभित्र लामो समयदेखि उठ्दै आएको पुस्तान्तरण तथा नेतृत्व हस्तान्तरणको बहसबारे सोधिएको प्रश्नमा नेता बाँस्कोटाले सो विषय महाधिवेशनमा फेरि उठ्ने प्रस्ट पारे। नेतृत्व परिवर्तनको विषय पार्टीको प्रक्रियाभित्रै टुंगिने भएकाले यो बहस कहिल्यै अन्त्य नहुने उनको भनाइ छ।
अहिले पार्टी महाधिवेशनबाट पराजित अवस्थामा रहेको र हारपछि सघाउनु आफ्नो संस्कार भएको उनले उल्लेख गरे। तर अर्को महाधिवेशन नजिकिँदा यो बहस आफैँ अगाडि आउने उनले बताए।
यसैगरी कार्यदलको प्रतिवेदन तथा तल्लो तहबाट प्राप्त हजारौँ सुझावलाई अध्यक्षको ४० बुँदे प्रतिवेदनले समेट्ने प्रयास गरेकोमा नेता बाँस्कोटाले सन्तोष व्यक्त गरे।







