सहिदकी आमाको अपमान भएको विषयलाई लिएर सांसद खतिवडाले सरकारको ध्यानाकर्षण गराएका छन्। एक आमाको ममता र पीडामाथि प्रहार हुनु नहुने उल्लेख गर्दै उनले यस्तो अवस्थामा सरकार के हेरेर बसेको छ भनी प्रश्न उठाएका छन्।
यस क्रममा सहिदकी आमाले आफू नेता बन्न वा मेडिकल माफियाका रूपमा अगाडि आएको नभई खबरदारीका लागि आएको प्रतिक्रिया दिएको भनाइ सार्वजनिक भएको छ। एक छोरा सहिद भइसकेपछि आफ्ना छोराजस्ता अरू छोराहरू मर्नु नपरोस् भन्ने चाहनाले बेलाबेला खबरदारी गर्ने गरेको पनि सो भनाइमा उल्लेख छ। सरकारसँग आफ्ना पनि धेरै प्रश्न र असहमति रहे पनि जिम्मेवार भएर बोल्ने गरेको बताइएको छ।
अबदेखि बोल्दा शब्दको ख्याल गर्न आग्रह गर्दै सहिद परिवारको रगत अझै सुक्न नपाएको उल्लेख गरिएको छ। न्यायको अनुभूति हुने गरी काम गर्न पनि सरकारसँग आग्रह गरिएको छ।
यसैगरी कारागारमा रहेका जेन-जी थुनुवाको तत्काल रिहाइको माग अघि सारिएको छ। घाइतेको उपचार संसारको जुनसुकै ठाउँमा गराउनुपरे पनि नि:शुल्क हुनुपर्ने र सहिद परिवारको चित्त बुझाउने गरी काम हुनुपर्ने माग गरिएको छ।







