मुख्य सामग्रीमा जानुहोस्

हलेसी तुवाचुङमा मङ्सिर १४ देखि प्रथम तुवाचुङ कप फुटबल, विजेतालाई २ लाख २२ हजार २२२

हलेसी तुवाचुङ नगरपालिकाले मङ्सिर १४ गतेदेखि ‘प्रथम तुवाचुङ कप–२०८३’ अन्तरपालिकास्तरीय पुरुष फुटबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ। प्रतियोगिताको विजेताले २ लाख २२ हजार २२२ रुपैयाँ पाउने छ भने उपविजेताले १ लाख ११ हजार…

विश्वपत्र संवाददाता

· २ मिनेटको पढाइ

२पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Nagariknetwork
हलेसी तुवाचुङमा मङ्सिर १४ देखि प्रथम तुवाचुङ कप फुटबल, विजेतालाई २ लाख २२ हजार २२२
Nagariknetwork

हलेसी तुवाचुङ नगरपालिकाले आगामी मङ्सिर १४ गतेदेखि ‘प्रथम तुवाचुङ कप–२०८३’ अन्तरपालिकास्तरीय पुरुष फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ। पाँच दिनसम्म चल्ने प्रतियोगिताका सबै खेल वडा नं ७ महादेवस्थानस्थित फुटबल मैदानमा सञ्चालन हुने नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ।

एघार वडा रहेको यो नगरपालिका जिल्लाको दोस्रो ठूलो स्थानीय तह हो। जिल्लाका स्थानीय तहले गर्दै आएका फुटबल प्रतियोगितामध्ये सबैभन्दा बढी पुरस्कार राशि राखिएको प्रतियोगिता यो हुने नगरपालिकाले जनाएको छ। प्रतियोगितामा देशभरका जुनसुकै स्थानीय तहले पनि सहभागिता जनाउन पाउनेछन्।

ग्रामीण तथा स्थानीयस्तरमा रहेका प्रतिभावान् खेलाडीको पहिचान गरी उनीहरूलाई व्यावसायिक फुटबलमा अगाडि बढ्न प्रोत्साहन मिल्ने अपेक्षा नगरपालिकाले राखेको छ। नगरप्रमुख विमला राईका अनुसार प्रतियोगिताले पालिकाहरूबीच समन्वय र भाइचारा बढाउने तथा खेलकुदमार्फत मित्रता, सद्भाव र पारस्परिक सहयोगको भावना विकास गर्ने लक्ष्य लिएको छ। नगरपालिकाकै खेलमैदानमा हुने यो प्रतियोगिताबाट जिल्ला, प्रदेश र राष्ट्रियस्तरका प्रतियोगितामा प्रतिनिधित्व गर्न सक्ने दक्ष खेलाडी तयार हुने विश्वास उनको छ।

पुरस्कार राशि

प्रतियोगिताको विजेता टोलीले २ लाख २२ हजार २२२ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। उपविजेतालाई १ लाख ११ हजार १११ रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र दिइने जनाइएको छ। यसैगरी सेमिफाइनलमा पुग्ने दुई टोलीले जनही ५५ हजार ५५५ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्।

प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोल गर्ने खेलाडीलाई भने जनही १०–१० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने नगरपालिकाले जनाएको छ।

सहभागिताका सर्त

प्रतियोगिताका खेलहरू अन्तर्राष्ट्रिय नियम अर्थात् फिफाले निर्धारण गरेको नियमअनुसार खेलाइने सूचनामा उल्लेख छ। प्रत्येक नगरपालिका तथा गाउँपालिकाबाट एक टोली मात्र सहभागी हुन पाउने छ। सहभागिताका लागि सम्बन्धित पालिकाको पत्र र खेलाडीको परिचय खुल्ने नागरिकता वा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि अनिवार्य बुझाउनुपर्नेछ। यस्तै, एक टोलीले अन्तर नगरपालिका तथा गाउँपालिकाका तीन जनासम्म खेलाडी राख्न पाउने र सम्पूर्ण खेल नकआउट प्रणालीमा खेलाइने पनि जनाइएको छ।

मङ्सिर १४ देखि १९ गतेसम्म तय गरिएको प्रतियोगिता आयोजना गर्ने निर्णय भने यही कात्तिक १७ गते बसेको नगरपालिकाको १५०औँ नगर कार्यपालिका बैठकले गरेको थियो। सोही निर्णयका आधारमा प्रमुख प्रशासकीय अधिकृत पवनकुमार प्याकुरेलले सूचना जारी गर्दै प्रतियोगिताबारे जानकारी दिएका हुन्।