बेल्जियमका स्ट्राइकर रोमेलु लुकाकुले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका छन् । ३३ वर्षीय लुकाकुले बेल्जियमको राष्ट्रिय टोलीका लागि १६ वर्ष बिताएपछि आफ्नो अन्तर्राष्ट्रिय यात्रा टुंग्याउने निर्णय सार्वजनिक गरेका हुन् । सन्यासको घोषणा उनले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत गरेका छन् ।
लुकाकु बेल्जियमका सर्वाधिक गोलकर्ता हुन् । राष्ट्रिय टोलीका लागि उनले १३५ खेल खेल्दै ९४ गोल गरेका छन् । पुरुष अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा उनी पाँचौं स्थानमा छन् । उनीभन्दा माथि सुनिल क्षेत्री, अली दाइ, लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो छन्, जसको नाममा १४६ गोल छ ।
विश्वकप र युरोमा पनि छाप
बेल्जियमका लागि लुकाकुले चार विश्वकप खेल्दै आठ गोल गरेका छन् । यस्तै तीन युरोपियन च्याम्पियनसिपमा उनको नाममा कुल ६ गोल छ । सन् २०२३ मा युरो २०२४ छनोटका आठ खेलमा १४ गोल गर्दै उनले युरोपियन च्याम्पियनसिप छनोटको एकै संस्करणमा सर्वाधिक गोल गर्ने कीर्तिमान पनि बनाएका थिए ।
इन्स्टाग्राममार्फत घोषणा गर्दै लुकाकुले राष्ट्रिय टोलीसँग बिताएका १६ वर्षका हरेक क्षणको आनन्द लिएको बताएका छन् । आफूले टोलीका लागि सक्ने सबै योगदान गरेको र हरेक भावनात्मक अनुभवबाट गुज्रिएको उनको भनाइ छ । समर्थक, सहकर्मी तथा प्रशिक्षकप्रति आभार व्यक्त गर्दै उनले आफ्नो निर्णयबाट सन्तुष्ट रहेको र राष्ट्रिय टोलीसँगका क्षण कहिल्यै नबिर्सने उल्लेख गरेका छन् ।
पछिल्लो समय लुकाकु हिपको चोटका कारण टर्कीविरुद्धको नेसन्स लिग खेलमा अनुपस्थित थिए । आइतबार इटालीविरुद्धको खेलमा भने उनी बेन्चमा बसेका थिए । उक्त खेलमा बेल्जियमले ४–१ को जित निकाल्दै प्रतियोगिताको क्वार्टरफाइनलमा स्थान बनाएको थियो ।
यसैबीच लुकाकुका बेल्जियमका सहकर्मी केभिन डी ब्रुएनले सामाजिक सञ्जालमार्फत उनलाई धन्यवाद दिएका छन् । लुकाकुले आफू र आफ्नो देशका लागि गरेको योगदान शब्दमै वर्णन गर्न नसकिने उनको भनाइ छ ।







