आगामी फागुन १ गतेदेखि आयोजना गर्ने भनिएको नेपाल फुटबल लिग (एनएफएल) सञ्चालन गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले स्वीकृतिको सैद्धान्तिक सहमति दिएको छ । एनएफएलका अध्यक्ष कल्याण गुरुङले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै परिषद्ले प्रतियोगिता सञ्चालनका लागि यस्तो सहमति दिएको जानकारी गराएका हुन् ।
नेपाली फुटबललाई व्यावसायिक बाटोमा अघि बढाउने उद्देश्यसहित एनएफएलको पहिलो संस्करण फागुन १ गतेदेखि गर्ने घोषणा पहिले नै भइसकेको छ । विज्ञप्तिअनुसार पहिलो संस्करणमा घरेलु फुटबलका ७ पुराना र ३ नयाँ गरी जम्मा १० क्लबले भाग लिनेछन् ।
यी हुन् सहभागी हुने पुराना क्लब
प्रतियोगितामा सहभागी हुने पक्का भएका पुराना क्लब यी हुन् :
काठमाडौं रेजर्स फुटबल क्लब
ललितपुर सिटी फुटबल क्लब
एफसी चितवन
पोखरा थन्डर्स
बुटवल लुम्बिनी फुटबल क्लब
धनगढी एफसी
झापा एफसी
यीबाहेक थप तीन नयाँ क्लब समावेश गर्न एनएफएलले प्रक्रिया अघि बढाएको छ । सोही क्रममा विराटनगर, धरान, जनकपुर, वीरगञ्ज, हेटौंडा, भक्तपुर, नेपालगञ्ज र सुर्खेतलगायत सहरको प्रतिनिधित्व गर्ने क्लब स्थापनाका लागि लिगले बोलपत्र आह्वान गरेको थियो ।
बोलपत्र बुझाउने म्याद मंसिर ४ सम्म
नयाँ क्लबका लागि बोलपत्र पेस गर्ने अन्तिम मिति पहिले १६ नोभेम्बर २०२६ अर्थात् ३० कात्तिक २०८३ तोकिएको थियो । तर, चाडपर्वको बिदालाई ध्यान दिँदै इच्छुक पक्षलाई तयारीका लागि थप समय दिने निर्णय गरिएको र अन्तिम म्याद मंसिर ४ अर्थात् नोभेम्बर २०, २०२६ सम्म पुर्याइएको एनएफएलले जनाएको छ ।
‘यो समयसीमा शुक्रबार सकिँदै छ । अहिले हामी यसैको तयारीमा छौं,’ एनएफएलका अध्यक्ष कल्याण गुरुङले भने ।
नयाँ क्लबका लागि आवेदन दिन चाहने पक्षले आफ्नो व्यावसायिक तथा वित्तीय इतिहास, आगामी १० वर्षको क्लब सञ्चालन योजना र सामाजिक विश्वसनीयतासम्बन्धी विवरण पेस गर्नुपर्नेछ । रंगशालाको उपलब्धतालाई आधार मानेर लिग ‘होम एन्ड अवे’ प्रणालीमा सञ्चालन गर्ने योजना रहेको आयोजकले जनाएको छ । तयारी अवधिसहित एनएफएल करिब चार महिनासम्म चल्ने बताइएको छ ।







