प्रथम धरान अन्तर्राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा सशस्त्र प्रहरी बल (एपिएफ) फुटबल क्लबले भारतको अक्वा एफसी झारखण्डमाथि ७-० को फराकिलो जित निकाल्दै सेमिफाइनलको यात्रा तय गरेको छ। शनिबार साँझ धरानमा सुरु भएको रात्रिकालीन प्रतियोगिताको पहिलो खेलमा एपिएफकी पूर्णिमा राई एक्लैले चार गोल हानिन्।
खेलको १८औँ मिनेटमा पूर्णिमाले गोल गर्दै टोलीलाई अग्रता दिलाइन्। २२औँ मिनेटमा अक्वाका एक खेलाडीबाट भएको आत्मघाती गोलसँगै एपिएफको अग्रता दोब्बर बन्यो। २९औँ मिनेटमा रश्मिकुमारी घिसिङले गोल थपेपछि पहिलो हाफमा एपिएफ ३-० ले अगाडि रह्यो।
दोस्रो हाफको १३औँ मिनेटमा पूर्णिमाले व्यक्तिगत दोस्रो गोल गरिन्। त्यसको चार मिनेटपछि हेडमार्फत गोल गर्दै उनले ह्याट्रिक पूरा गरिन्। ७८औँ मिनेटमा पूर्णिमाले चौथो गोल हानिन् र खेल सकिन एक मिनेट बाँकी रहँदा रश्मिकुमारीले व्यक्तिगत दोस्रो गोल गर्दै एपिएफको जित ७-० मा पुर्याइन्।
पूर्णिमा खेलको प्लेयर अफ दी म्याच घोषित भइन्। आयोजक फुटबल क्लबका अध्यक्ष तथा प्रतियोगिता संयोजक सन्तोष राईका अनुसार उनलाई १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको छ।
आइतबार आयोजकको खेल
प्रतियोगिताअन्तर्गत आइतबार आयोजक स्वर्णिम फुटबल क्लब धरान र गाईघाट फुटबल क्लब उदयपुरबीच प्रतिस्पर्धा हुनेछ। डी-१९ क्लब धरान-१९ र स्वर्णिम फुटबल क्लबको संयुक्त आयोजनामा शनिबारदेखि सञ्चालित यो प्रतियोगिता आगामी मंसिर ५ गतेसम्म चल्नेछ। भारतसहित आठ टोली प्रतियोगितामा सहभागी छन्।
विजेता टोलीले पाँच लाख रुपैयाँसहित ट्रफी पाउनेछ भने उपविजेतालाई तीन लाख रुपैयाँ प्रदान गरिनेछ। हरेक खेलको प्लेयर अफ दी म्याचलाई १० हजार रुपैयाँ दिइने आयोजकले जनाएको छ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई विद्युतीय स्कुटर प्रदान गरिनेछ भने व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीलाई जनही १५ हजार रुपैयाँ पुरस्कार दिइनेछ।







