विश्व फुटबलको सर्वोच्च निकाय फिफाको नेतृत्व परिवर्तन गर्नुपर्ने बताउँदै जर्मन प्रशिक्षक योर्गेन क्लोपले अध्यक्ष जियानी इन्फान्टिनोको स्थानमा नयाँ व्यक्ति आउनुपर्ने धारणा राखेका छन्। पूर्वअध्यक्ष सेप ब्लाटरको कार्यकाल सकिएपछि फिफाको अवस्था अझ खराब बनेको उनको टिप्पणी छ।
ब्लाटरपछि अवस्था यति बिग्रन सक्छ भन्ने आफूले सोचेको नभए पनि त्यसभन्दा पनि खराब बनाउने व्यक्ति नै आएको क्लोपको भनाइ छ। इन्फान्टिनोको ठाउँमा आउने अर्को व्यक्तिले राम्रो काम गर्न सक्ने उनको विश्वास छ।
भ्रष्टाचारसम्बन्धी विवादमा परेपछि ब्लाटरले सन् २०१५ मा फिफा अध्यक्ष पदबाट राजीनामा दिएका थिए। त्यसको करिब एक वर्षपछि, सन् २०१६ को फेब्रुअरीमा इन्फान्टिनो फिफाको अध्यक्ष बनेका थिए। उनले आगामी मार्चमा हुने निर्वाचनमा पुनः अध्यक्ष पदका लागि प्रतिस्पर्धा गर्ने तयारी गरेका छन्।
एफएफई योजनाले ल्याएको दबाब
फिफाका प्रतियोगितामा निजी लगानीकर्तालाई हिस्सेदारी बिक्री गर्ने प्रस्ताव अघि सारेपछि इन्फान्टिनो विवादमा परेका छन्। फिफा फरवार्ड इन्टरप्राइज (एफएफई) नाम दिइएको उक्त योजनामा विश्वकपलगायत अन्य प्रतियोगितामा निजी पुँजी भित्र्याउने प्रस्ताव समावेश थियो।
योजनाको विरोध बढेपछि इन्फान्टिनोले फिफा काउन्सिलसँग माफी मागेका थिए। तर एफएफईसँग सम्बन्धित सबै कागजात सार्वजनिक गरेर महत्त्वपूर्ण प्रश्नको जवाफ नदिएसम्म उनी विश्व फुटबलको नेतृत्व गर्न योग्य छैनन् भन्ने दबाब कायमै छ।
क्लोपले आर्थिक स्वार्थभन्दा फुटबलको भविष्यलाई प्राथमिकता दिने व्यक्तिले नेतृत्व गर्नुपर्ने बताएका छन्। फुटबलको भविष्यप्रति साँच्चै चिन्ता गर्ने र आर्थिक स्वार्थबाट प्रेरित नहुने मानिस अध्यक्ष बनेमा ठूलो सुधार हुने उनको भनाइ छ।
युरोपेली फुटबलको सर्वोच्च निकाय यूईएफए इन्फान्टिनोका आलोचकहरूमध्ये अगाडि छ र पटकपटक उनको राजीनामा माग गर्दै आएको छ। एफएफई योजनासँग जोडिएका कागजात सार्वजनिक गराउन यूईएफएले अमेरिकाका तीनवटा अदालतमा दाबी पेस गरेको छ भने इन्फान्टिनोविरुद्ध आपराधिक कानुनी प्रक्रिया अघि बढाउने तयारीसमेत गरेको छ।
उम्मेदवारी दर्ताको समयसीमा नजिक
आगामी निर्वाचनमा इन्फान्टिनोविरुद्ध उम्मेदवारी दिन चाहनेले आधिकारिक रूपमा नाम दर्ता गराउन बुधबारसम्म समय पाउनेछन्। यसअघि आर्सनलका पूर्वप्रशिक्षक आर्सेन वेंगरले अध्यक्ष पदमा उम्मेदवारी दिने विषयमा विचार गरिरहेका थिए। तर बीबीसी स्पोर्ट्सका स्रोतका अनुसार उनले उम्मेदवारी नदिने निर्णय गरेका छन्।
यूईएफए भने समयसीमा सकिनुअघि वैकल्पिक उम्मेदवार खोज्ने प्रयासमा जुटेको छ। टोटनहमका पूर्वडिफेन्डर रामोन भेगा अक्टोबरमै उम्मेदवारी घोषणा गर्ने पहिलो व्यक्ति बनेका थिए भने जापान फुटबल संघका मानार्थ अध्यक्ष कोजो तासिमाले पनि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन्।







