मुख्य सामग्रीमा जानुहोस्

सभामुख डोलप्रसाद अर्यालद्वारा कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान, प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्ने

सभामुख डोलप्रसाद अर्यालले संसद्को कार्यसूची तय गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको छ। यससँगै प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेका लागि सरेको छ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
सभामुख डोलप्रसाद अर्यालद्वारा कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान, प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्ने

प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गर्नुभएको छ। संसद्को बैठकमा पेस हुने विजनेश र कार्यसूचीका विषयमा छलफल गर्न आज दिउँसो सवा १२ बजे परामर्श समितिको बैठक बस्न लागेको हो।

कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने तय भएपछि आज बिहान ११ बजेका लागि निर्धारण गरिएको प्रतिनिधिसभाको बैठक दुई घण्टा पछाडि धकेलिएको छ। संघीय संसद् सचिवालयका अनुसार अब प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे मात्र सुरु हुनेछ।

वार्षिक प्रतिवेदनहरू पेस गर्ने कार्यसूची

आज बस्ने प्रतिनिधिसभा बैठकमा विभिन्न संवैधानिक निकायका वार्षिक प्रतिवेदनहरू पेस गर्ने कार्यसूची रहेको छ। प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले राष्ट्रिय मानव अधिकार आयोगको अठारौं वार्षिक प्रतिवेदन सदनसमक्ष पेस गर्नुहुनेछ।

यसका साथै राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन र राष्ट्रिय समावेशी आयोगको सातौँ वार्षिक प्रतिवेदन पनि आजकै बैठकमा प्रस्तुत गर्ने तयारी छ।

विधेयक र अन्तर्राष्ट्रिय महासन्धिमाथि छलफल

बैठकमा अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ। यस प्रस्तावमाथि छलफल पश्चात् संसद्ले आवश्यक निर्णय लिनेछ।

यसैगरी, युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को बाध्यकारी श्रम महासन्धिका साथै श्रम निरीक्षण सम्बन्धी महासन्धिमाथि सदनमा छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। यी दुवै अन्तर्राष्ट्रिय महासन्धिहरूलाई आजैको बैठकबाट अनुमोदन गर्ने कार्यसूची समेत तय गरिएको छ।