नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले नयाँ इलेक्ट्रिक एसयूभी ‘ई.मास ५’ (e.MAS 5) को बुकिङ खुला गरेको छ। यसका साथै कम्पनीले ग्राहकहरूका लागि गाडीको आधिकारिक बजार मूल्य अनुमान गर्ने विशेष प्रवर्द्धनात्मक योजना समेत सार्वजनिक गरेको छ।
मूल्य अनुमान गर्ने विशेष योजना
‘गेस एन्ड बुक द अल-न्यु ई.मास ५ एट योर प्राइस’ नामक यस अभियान अन्तर्गत ग्राहकहरूले अनलाइन प्लेटफर्ममार्फत आफूले चाहेको भेरियन्ट छनोट गरी त्यसको सम्भावित मूल्य अनुमान गर्न सक्नेछन्। कम्पनीका अनुसार दुवै भेरियन्टका लागि गोलाप्रथा (लक्की ड्र) मार्फत पाँच-पाँच जना विजेता चयन गरिनेछ। आधिकारिक रूपमा सार्वजनिक हुने सुरुवाती मूल्यको सबैभन्दा नजिक अनुमान गर्ने विजेताहरूले आफ्नै अनुमानित मूल्यमा यो गाडी किन्न पाउनेछन्।
भेरियन्ट र बुकिङ प्रक्रिया
यो गाडी दुईवटा भेरियन्टमा उपलब्ध हुनेछ। जसअनुसार ‘ई.मास ५ प्राइम’ को मूल्य २९ लाख ९९ हजार रुपैयाँदेखि ३४ लाख ९९ हजार रुपैयाँसम्म अनुमान गर्न सकिने सीमा तोकिएको छ। त्यस्तै, ‘ई.मास ५ प्रिमियम’ भेरियन्टका लागि ३४ लाख ९९ हजार रुपैयाँदेखि ३९ लाख ९९ हजार रुपैयाँसम्मको सीमाभित्र रहेर मूल्य अनुमान गर्नुपर्नेछ।
ग्राहकले न्यूनतम १ लाख रुपैयाँ बुझाएर यो गाडी बुकिङ गर्न सक्नेछन्। बुकिङ रकम बैंकमार्फत भुक्तानी गरी भौचर अनलाइन वा प्रोटोनका बिक्री परामर्शदातामार्फत बुझाउन सकिने कम्पनीले जनाएको छ।
विशेषता र बजार प्रतिस्पर्धा
मलेसियाको प्रोटोन र गिली (Geely) को सहकार्यमा विकसित ई.मास ५ ले हालै मलेसियामा आयोजित ‘एलियान्ज डीएसएफ भेहिकल अफ द इयर अवार्ड्स’ मा ‘इलेक्ट्रिक कम्प्याक्ट भेहिकल अफ द इयर २०२६’ को उपाधि जितेको थियो।
जगदम्बा मोटर्सका अनुसार यो गाडी आफ्नो देशकै पहिलो रियर-ह्विल-ड्राइभ इलेक्ट्रिक कम्प्याक्ट एसयूभी हुनेछ। नेपालमा विद्युतीय गाडीको बजार विस्तार भइरहेका बेला ई.मास ५ ले कम्प्याक्ट इलेक्ट्रिक एसयूभी खण्डमा प्रतिस्पर्धालाई थप बलियो बनाउने विश्वास कम्पनीले व्यक्त गरेको छ।







