डोल्पाको शे-फोक्सुण्डो तालको दक्षिणतर्फ रहेको रिग्मो गाउँ शे-फोक्सुण्डो गाउँपालिका–८ मा पर्छ । ढुंगा र काठले बनेका परम्परागत घर, घरघरमा सञ्चालित रेष्टुरेन्ट र होमस्टे तथा ताल हेर्न आउने पर्यटकका कारण गाउँमा चहलपहल देखिन्छ । तर यही गाउँका बासिन्दाको दैनिकी भने सडक, उपचार र पढाइको अभावले गाँजिएको छ ।
वडा कार्यालयका अनुसार रिग्मोमा ६२ घरधुरी छन् र करिब चार सय मानिस बस्छन् । वडा नम्बर ८ को कुल जनसंख्या करिब सात सय छ । सदरमुकाम दुनैबाट रिग्मो पुग्न दुई दिन हिँड्नुपर्छ ।
हेलिकप्टरबिना उपचारको विकल्प छैन
गाउँ नजिकै आधारभूत स्वास्थ्य सेवा केन्द्र छ, तर दशैंको बिदाका कारण त्यो बन्द थियो । केन्द्र खुलेको अवस्थामा पनि औषधि नै नपाइने गुनासो स्थानीयको छ । हातको औँला देखाउँदै औषधि माग्ने ६२ वर्षीया पेम्बा डोल्मा गुरुङको अनुभव पनि त्यही छ—सामान्य समस्या लाग्दा पनि भर पर्ने ठाउँ छैन ।
गत चैतमा बिरामी परेका ६५ वर्षीय चुपुर लामूलाई घुँडाको समस्याका लागि काठमाडौंसम्म पुग्नुपर्यो । दुनैसम्म जिप, सुर्खेतसम्म सडक र त्यसपछि काठमाडौं जहाज—यो यात्रा र उपचार दुवैले ठूलो खर्च बोकेको उनको भनाइ छ । गाउँमा छाती र पेट दुख्दा खाने सामान्य औषधि मात्र पाइने उनले बताए ।
वडाध्यक्ष निमा लामाका अनुसार जटिल बिरामी वा दुर्घटना हुँदा हेलिकप्टर बोलाउनुको विकल्प छैन र त्यसका लागि १० देखि १२ लाख रुपैयाँसम्म खर्च हुन्छ । पैसा हुनेले हवाई मार्गबाट बिरामी लैजाने र नहुनेले ज्यान जोखिममा पार्नुपर्ने अवस्था रहेको उनको भनाइ छ । बिरामी बोकेर लैजान डोको र स्ट्रेचरको प्रयोग गर्नुपर्ने बाध्यता पनि यहाँ छ ।
शिक्षिका सेरापलामू रोकायका अनुसार गर्भवती महिलाको अवस्था झन् जोखिमपूर्ण छ । हेलिकप्टरबाटै लैजाँदा पनि अस्पताल पुग्न ढिलो हुने गरेको छ । संविधानको धारा ३५ ले आधारभूत स्वास्थ्य सेवा निःशुल्क पाउने, आकस्मिक सेवाबाट कसैलाई वञ्चित नगरिने तथा स्वास्थ्य सेवामा समान पहुँचको हक सुनिश्चित गरे पनि रिग्मोका बासिन्दा त्यसबाट टाढै छन् ।
सुलिगाडदेखि नै सडक छैन
दुनै–सुलिगाड खण्डदेखि नै बाटो नभएकाले शे-फोक्सुण्डो गाउँपालिका सडक सञ्जालमा जोडिएको छैन । वडाध्यक्ष लामाका अनुसार सडकका लागि प्रदेश र केन्द्र सरकारसमक्ष बारम्बार आग्रह गरिए पनि सुनुवाइ भएको छैन । भीमकाय पहाड छिचोल्दै बनाइएको बाटो हिँडेर मात्र गाउँ पुगिन्छ ।
यहाँको मुख्य यातायात भनेकै खच्चड हो । दैनिक उपभोग्य वस्तुदेखि खाद्यन्नसम्म खच्चडमै बोकेर ल्याउनुपर्छ र हिँड्न नसक्नेलाई पनि खच्चडमै गन्तव्यसम्म पुर्याइन्छ । पहिलो प्राथमिकता सुलिगाडदेखि रिग्मोसम्मको सडक भएको वडाध्यक्षको भनाइ छ । सडक बने शे-फोक्सुण्डो ट्रेकिङमा आउनेका लागि पनि सहज हुने उनको भनाइ छ ।
विद्यालयमा ईसीडी कक्षा मात्र
रिग्मोमा रहेको गोविन्द आधारभूत विद्यालय २०१८ सालमा स्थापना भएको हो । अहिले त्यहाँ बालकक्षा (ईसीडी) मात्र सञ्चालनमा छ, जहाँ सात जना विद्यार्थी छन् । माथिल्लो कक्षामा विद्यार्थी नभएपछि दरबन्दीका शिक्षकलाई अन्य विद्यालयमा व्यवस्थापन गरिएको शिक्षिका रोकायले बताइन् ।
गाउँका बालबालिका दुई घण्टा तल रहेको अर्को विद्यालयको होस्टेलमा बसेर पढ्ने गरेका छन् भने कतिपय अभिभावकले काठमाडौंमा होस्टेल राखेर पढाउने गरेका छन् । पाँच कक्षासम्म पढाइ हुनुपर्ने ठाउँमा ईसीडीबाट मात्र सुरुवात भएको वडाध्यक्ष लामाले बताए ।
बस्ती विकास कार्यक्रमको गति सुस्त
रिग्मोमा कहिलेदेखि बसोबास सुरु भयो भन्ने यकिन छैन । गुम्बामा भेटिएको पुस्तक ६ सय वर्ष पुरानो रहेको वडाध्यक्ष लामाले बताए । कर्णाली प्रदेश सरकारले रिग्मो बस्ती विकास कार्यक्रम ल्याएको छ, जसको २०८२ मा मुख्यमन्त्री यमलाल कँडेलले शुभारम्भ गरेका थिए । तर कार्यक्रमले गति लिन सकेको छैन ।
करिब ४० करोड रुपैयाँको बजेटमा बस्ती विकास गर्ने भनिए पनि काम सजिलो ठाउँमा मात्र भएको र रिग्मो गाउँमा खासै काम नभएको वडाध्यक्षको गुनासो छ । कार्यक्रमअन्तर्गत शे-फोक्सुण्डो पदमार्ग निर्माण, सडक विस्तार, प्रतीक्षालय, संग्रहालय र बस्तीमा तटबन्धसम्मको योजना छ । यसको लक्ष्य प्राचीन बस्तीको संरक्षण गर्दै कला, संस्कृति र पर्यटनको विकास गर्नु हो ।
कादुरी संस्थाको सहयोगमा गाउँमा बिजुली उत्पादन भएको छ र घरघरमा बत्ती बल्छ । तर इन्टरनेट र टेलिफोन टावरको समस्या कायमै छ । फोन जोडिए पनि गुणस्तर राम्रो नभएको उल्लेख गर्दै वडाध्यक्ष लामाले फोरजी टावरका लागि सरकारसँग आग्रह गरेका छन् ।
यार्सागुम्बा र पर्यटनमा टेकिएको अर्थतन्त्र
यहाँका बासिन्दाको मुख्य आयस्रोत यार्सागुम्बा हो । यो वर्ष यार्साको मूल्य घटेको वडाध्यक्ष लामाले बताए । गत वर्ष २०–३० लाख रुपैयाँको यार्सा बेच्नेले यस वर्ष १२–१५ लाखमै बेच्नुपरेको उनको भनाइ छ । यार्सा बेचेरै नुन, तेललगायत खाद्यन्न किन्ने गरिएको स्थानीय बताउँछन् ।
फापर र आलु उत्पादन हुने भए पनि वर्षभरि खान पुग्दैन । थप खाद्यन्न खच्चडमा बोकेर ल्याउनुपर्ने बाध्यता छ । कृषकले चौंरी, भेडाबाख्रा र खच्चड पाल्दै आएका छन् ।
पछिल्लो समय शे-फोक्सुण्डो हेर्न आउने आन्तरिक र बाह्य पर्यटक बढेसँगै गाउँमा होमस्टे र होटल खुलेका छन्, जो स्थानीय आम्दानीको अर्को स्रोत बनेको छ । वडाध्यक्षका अनुसार चार वर्षयता आन्तरिक पर्यटक आउन थालेका छन् र दशैं–तिहारको बिदामा नेपाली पर्यटकको भीड लाग्छ । यसअघि कहिलेकाहीँ मात्र विदेशी पर्यटक आउने गरेका थिए ।
शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जका अनुसार आर्थिक वर्ष २०८१/८२ मा ५ हजार ९५ जनाले तालको अवलोकन गरेका थिए भने ०८२/८३ मा ७ हजार २३२ पुगे । २०८३/८४ को असोजसम्म ७३८ पर्यटक पुगेका छन् । काठमाडौंदेखि दुनैसम्म सार्वजनिक बस चल्न थालेपछि आन्तरिक पर्यटक बढेको र नेपालकै सबैभन्दा गहिरो मानिने यो ताल आकर्षणको केन्द्र बनेको बताइन्छ ।
यता जलवायु परिवर्तनको असर पनि रिग्मोमा देखिन थालेको छ । ६५ वर्षीय चुपुर लामाले बाल्यकालमा वरिपरिका डाँडा हिउँले ढाकिएको देखेका थिए, अहिले ती काला पहाडमा परिणत भएका छन् । झन्डै आठ–नौ वर्षयता हिउँ नपरेको उनको भनाइ छ । वडाध्यक्ष लामा पनि तापक्रम बढेको र मौसमको ढाँचा फेरिएको बताउँछन् ।







