जनकपुरधाममा बिहीबार दिउँसो टिपरले स्कुटरलाई पछाडिबाट ठक्कर दिँदा स्कुटर चालकको घटनास्थलमै ज्यान गएको छ। जनकपुरधाम उपमहानगरपालिका–१३ को पिडारीचोकमा करिब साढे ४ बजे भएको उक्त दुर्घटनामा परी २० वर्षीय नवीन चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ।
मृतक चौधरी महोत्तरीको मनरासिस्वा नगरपालिका–५ कटैया बस्ने युवक हुन्। प्रहरीका अनुसार पिडारीचोकबाट रत्नसागरतर्फ लागेको स्कुटरलाई सोही दिशामा गइरहेको टिपरले पछाडिबाट ठक्कर दिएको थियो। स्कुटरको नम्बर मधेश प्रदेश ०२–०१० प ४०६९ र टिपरको नम्बर मधेश प्रदेश ०३–००१ ख ७५०४ रहेको प्रहरीले बताएको छ।
दुर्घटनापछि प्रहरीले स्कुटर, टिपर र टिपर चालकलाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा परेका चालक महोत्तरीको भंगहा नगरपालिका–७ सितापुर बस्ने २२ वर्षीय सचिनकुमार सिंह हुन्। घटनाबारे थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।







