कात्तिक २७, काठमाडौं । गतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष दिनेश प्रसाईंले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकार संविधान र कानुनप्रति जवाफदेही हुन नसकेको आरोप लगाएका छन् । जनताबाट ठूलो मतदान पाएर पनि सरकारले उत्तरदायित्व निर्वाह नगर्दा नेपाली समाजमा आशा मर्दै गएको र उद्योगी व्यवसायी हतोत्साहित बनेको उनको भनाइ छ ।
हालै एक अन्तर्वार्तामा बोल्दै प्रसाईंले प्रधानमन्त्री शाह र रास्वपा नेतृत्वको सरकारको आठ महिनाको कामकारबाहीको समीक्षा गरेका थिए । सरकारले अत्यधिक मत प्राप्त गरे पनि जवाफदेही बन्न नचाहेकाले समाजले अपेक्षा गर्न छाडेको र निजी क्षेत्र पनि निरुत्साहित बनेको उनले बताए ।
जनताले तिरेको करबाट सञ्चालन हुने सार्वजनिक संस्थान तथा निकायहरू प्रधानमन्त्री र उनका सल्लाहकारहरूको निर्देशनमा मात्रै चल्ने अवस्था आएको प्रसाईंको आरोप छ । यसले राज्यका संस्थाहरूको स्वायत्तता र व्यावसायिकतामाथि प्रश्न उठाएको उनले जनाए ।
संविधानसँग सम्झौता नहुने
सरकारले जनताबाट पर्याप्त अधिकार पाइसकेकाले थप शक्ति माग्नुको औचित्य नरहेको उनले प्रश्न उठाएका छन् । लोकतन्त्र र संविधानका मूल्य–मान्यतामा कुनै पनि हालतमा सम्झौता गर्न नहुने उनको दाबी छ । आर्थिक अवसरहरू कमजोर बनाइएको अवस्थामा सरकार टिकाउ हुन नसक्ने उनले चेतावनी दिए ।
नागरिक हक अर्थात् सिभिल लिबर्टीलाई अझै गम्भीरतापूर्वक नलिइएको उनको बुझाइ छ । लोकतन्त्रलाई सुदृढ बनाउन नसके पपुलिज्मको भड्खालोतर्फ समाज धकेलिने उनले बताए । पार्टी दर्ता भएकै दिन सफलता खोज्नुभन्दा दीर्घकालीन सोचसहित लामा योजना बनाउनुपर्ने उनको भनाइ छ ।
सिद्धान्त र व्यवहार दुवै आवश्यक
राजनीतिमा सिद्धान्त र व्यवहारमध्ये कुनै एकलाई मात्रै रोज्न नहुने प्रसाईंले बताएका छन् । नेपाल, भारत तथा युरोपका जेनजी विद्रोहहरूको तुलना गर्दै उनले आफ्नो सैद्धान्तिक दृष्टिकोण उदार लोकतन्त्रतर्फ रहेको व्याख्या गरेका छन् । नेपाली समाजमा कार्ल माक्र्सलाई आवश्यकताभन्दा बढी र म्याक्स वेबर, टिएच मार्सलजस्ता विचारकलाई कम पढाइएको उनको ठहर छ ।
जेएनयू, नयाँदिल्लीबाट समाजशास्त्रमा पिएचडी गरेका प्रसाईंले लामो समय त्रिभुवन विश्वविद्यालयमा राजनीतिक समाजशास्त्र अध्यापन गरेका थिए । पर्यटन उद्यमीसमेत रहेका उनले पोखरामा जल महलमार्फत पर्यटन प्रवर्द्धनको काम गरेका छन् भने हाल काठमाडौंको मातातीर्थमा जंगल महल वेलनेस रिट्रिट सञ्चालन गर्दै आएका छन् ।
मुख्यतः विदेशी पर्यटक लक्षित फल्चा, थेरापी र योगलगायतका प्याकेज सञ्चालन गरिरहेका उनी नेपाली समाजले पनि यसको महत्व बुझ्दै जाने विश्वास राख्छन् । राजनीति गर्नेहरूले सरकारमा हुँदा बाहेक अन्य समयमा पूर्णकालीन राजनीतिक दैनिकी चलाउनु नहुने उनको धारणा छ ।







