साफ च्याम्पियनसिप २०२६ को उपाधिका लागि भारत र पाकिस्तान भिड्ने भएका छन्। शुक्रबार ढाकामा भएका दुवै सेमिफाइनलबाट यी दुई टोली विजयी हुँदै आइतबार हुने फाइनलमा प्रवेश गरेका हुन्।
पहिलो सेमिफाइनलमा भारतले भुटानलाई २–१ ले पराजित गर्यो। भारतले खेलको आठौँ मिनेटमै विष्णु पीभीको गोलबाट अग्रता लिएको थियो भने २७औँ मिनेटमा चिंगलेनसाना सिंहले दोस्रो गोल गर्दै टोलीको अन्तर बढाए। भुटानले ४८औँ मिनेटमा टोबडेनको गोलमार्फत फरक घटाए पनि खेल बराबरीमा फर्काउन सकेन।
दोस्रो सेमिफाइनलमा पाकिस्तानले आयोजक बंगलादेशलाई १–० ले हराएको छ। निर्णायक गोल अब्दुल अर्सदले खेलको ८६औँ मिनेटमा गरेका थिए। यो नतिजासँगै पाकिस्तान पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको हो।
आयोजक राष्ट्र बंगलादेशको सहभागिता सेमिफाइनलमै टुंगिएको छ भने उपाधि भिडन्त आइतबार हुने कार्यक्रम छ।







