मुख्य सामग्रीमा जानुहोस्

प्रधानमन्त्री शाहको भारत भ्रमणका बेला अयोध्या–जनकपुर रेल सेवा उद्घाटन हुने

अयोध्याबाट जनकपुरसम्म ६ सय ४ किलोमिटर दूरीमा रेल चल्नेछ, जसमध्ये २८ किलोमिटर मात्र नेपालतर्फ पर्छ । पहिलो चरणमा सातामा एक दिन मात्र चल्ने र सबै संरचना भारत सरकारले अनुदानमा बनाइदिएको मन्त्रालयको भनाइ छ ।

विश्वपत्र संवाददाता

· २ मिनेटको पढाइ

५पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:eKantipur
प्रधानमन्त्री शाहको भारत भ्रमणका बेला अयोध्या–जनकपुर रेल सेवा उद्घाटन हुने
eKantipur

प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणका क्रममा अयोध्याबाट जनकपुरसम्म रेल सेवा सञ्चालनको उद्घाटन गरिने भएको छ । प्रधानमन्त्री शाह ६ मंसिरमा भारत भ्रमणमा जाने र भोलिपल्ट ७ मंसिरमा जनकपुर–अयोध्या रेल सेवाको सुरुवात गर्ने तयारी भएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।

उद्घाटन प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा गर्ने मन्त्रालयको भनाइ छ । जनकपुर र अयोध्याबीचको धार्मिक सम्बन्धलाई आधार मानेर रेल सेवा सुरु गर्न लागिएको मन्त्रालयअन्तर्गत विकास सहायता समन्वय तथा गुणस्तर महाशाखा प्रमुख सुशीलबाबु ढकालले बताए ।

रामको जन्मभूमि अयोध्या हो, त्यहाँबाट जनकपुरसम्म रेलमार्गले जोड्ने विषय लामो समयदेखि उठिरहेको थियो ।

जनकपुरदेखि अयोध्यासम्मको दूरी ६ सय ४ किलोमिटर छ र सोही दूरीमा रेल गुड्नेछ । त्यसमध्ये २८ किलोमिटर खण्ड मात्र नेपालतर्फ पर्छ । तत्कालका लागि यात्रुवाहक रेल चलाउन लागिएको र १८ डिब्बा जोडिएको रेल तयारी अवस्थामा रहेको ढकालले जानकारी दिए ।

पहिलो चरणमा रेल सातामा एक दिन मात्र चल्नेछ । अयोध्याबाट एक दिन अघि आएको रेल जनकपुरबाट भोलिपल्ट मात्र प्रस्थान गर्ने मन्त्रालयका एक उच्च अधिकारीले बताए ।

नेपाल सरकारसँग आफ्नै रेल नभएकाले भारत सरकारले आफ्नो रेल सञ्चालन गर्न लागेको हो । सुरुमा एउटै रेल चले पनि यात्रुको चाप र माग बढेपछि संख्या थप्दै जान सकिने ती अधिकारीको भनाइ छ । रेलसम्बन्धी सबै संरचना भारत सरकारले पहिल्यै अनुदानमा निर्माण गरिदिएको हो ।

अहिलेका लागि रेल भारत सरकारकै व्यवस्थापनमा सञ्चालन हुनेछ । जयनगरदेखि नेपालतर्फको संरचना प्रयोग गरेबापत लाग्ने खर्च सञ्चालन गर्ने निकायले नै बेहोर्नेछ ।

जयनगरसम्म विद्युतीय रेल चलिरहेको छ, तर त्यहाँबाट नेपालतर्फ भने डिजेलबाट चल्ने रेल गुड्नेछ । प्रधानमन्त्री शाहको भ्रमणका बेला नेपालतर्फ पनि विद्युतीय रेल चल्न सक्ने गरी संरचनाको विद्युतीकरण अनुदानमा गरिदिन भारतसँग प्रस्ताव राख्ने तयारी मन्त्रालय स्रोतले जनाएको छ । ‘जयनगरसम्म विद्युतीय रेल आउँछ, त्यहाँबाट नेपालतर्फको भौतिक संरचना विद्युतीकृत भएको छैन,’ स्रोतले भन्यो ।

पूर्वमहानिर्देशकद्वारा स्वागत

जनकपुर–अयोध्या रेल सेवा सुरु हुनु सकारात्मक कदम भएको रेल विभागका पूर्वमहानिर्देशक रोहितकुमार बिसुराले बताए । अयोध्या–जनकपुर धार्मिक मार्ग भएकाले रेल सञ्चालनले दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई थप बलियो बनाउने उनको भनाइ छ ।

नेपालीहरू अयोध्या जाने र भारतबाट तीर्थालु जनकपुर आउने क्रम पुरानै भएकाले रेल चलेपछि यात्रा छिटो र सहज हुने बिसुराले उल्लेख गरे । सुरुमा सीमित समय तोरेर सेवा सञ्चालन गरे पनि पछि नियमित रूपमा चलाउने प्रक्रिया अघि बढाउनुपर्ने उनको सुझाव छ ।

अब भारतका अन्य सहरसँग पनि नेपाललाई जोड्दै लैजानुपर्छ । रेलमार्ग बर्दिबाससम्म बन्दै छ, पछि काठमाडौंसम्म जोड्ने योजना छ । त्यसमा पनि दुवै देशका सरकारले सघाउनुपर्छ ।

विद्यमान रेलमार्गको अवस्था

हाल जयनगर–जनकपुर–बिजलपुरासम्मको ५२ किलोमिटर खण्डमा रेल सेवा सञ्चालनमा छ । जयनगरदेखि बर्दिबाससम्मको रेलमार्गको कुल लम्बाइ भने ६९ किलोमिटर हुनेछ, जसमध्ये बाँकी १७ किलोमिटर खण्ड निर्माणाधीन छ । मुआब्जा दिएर सो खण्डमा संरचना निर्माणको काम अघि बढिरहेको मन्त्रालयका एक अधिकारीले बताए ।