मुख्य सामग्रीमा जानुहोस्

रत्नायकेको अलराउन्ड प्रदर्शनमा चितवनलाई हराउँदै सुदूरपश्चिम तेस्रो पटक एनपीएल फाइनलमा

कीर्तिपुरमा बिहीबार भएको दोस्रो क्वालिफायरमा सुदूरपश्चिमले चितवनले दिएको १३४ रनको लक्ष्य १९.५ ओभरमा ८ विकेट गुमाएर पूरा गर्‍यो। थरिन्दु रत्नायकेले ५३ रन अपराजित रहँदै २ विकेट पनि लिए। फाइनल शनिबार लुम्बिनी लायन्ससँग।

विश्वपत्र संवाददाता

· २ मिनेटको पढाइ

२पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Online Khabar
रत्नायकेको अलराउन्ड प्रदर्शनमा चितवनलाई हराउँदै सुदूरपश्चिम तेस्रो पटक एनपीएल फाइनलमा
Online Khabar

नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि भिडन्तमा सुदूरपश्चिम रोयल्स लगातार तेस्रो पटक पुगेको छ। बिहीबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा भएको दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई २ विकेटले हराउँदै सुदूरपश्चिमले फाइनलको टिकट पक्का गरेको हो।

चितवनले दिएको १३४ रनको लक्ष्य सुदूरपश्चिमले १९.५ ओभरमा ८ विकेट गुमाएर भेट्टायो। जितको जग श्रीलंकाली खेलाडी थरिन्दु रत्नायकेले राखे, जसले ब्याटिङ र बलिङ दुवैमा निर्णायक भूमिका खेले। उनले एक छेउमा टिकेर टोलीलाई लक्ष्यसम्म डोर्‍याए।

रत्नायकेले ४२ बल खेल्दै ७ चौकासहित ५३ रन बनाएर अपराजित रहे। सुदूरपश्चिमका लागि यो सर्वाधिक व्यक्तिगत स्कोर पनि हो। विजयी चौका पनि उनैको ब्याटबाट आयो। बलिङतर्फ उनले २ विकेट लिएका थिए।

लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिमको सुरुवात राम्रो रह्यो। ओपनर विनोद भण्डारीले १३ बलमा १ चौका र २ छक्कासहित २३ रन जोडे। पहिलो विकेटका लागि उनले जर्ज मन्सेसँग २३ रनको साझेदारी गरे। तर मन्सेस भने लगातार दोस्रो खेलमा प्रभाव पार्न सकेनन्, १५ बल खेलेर ८ रनमा पवेलियन फर्किए।

वान डाउनमा आएका स्कट कुगेलेइन २ र इशान पाण्डे १० रनमा आउट हुँदा सुदूरपश्चिम ४५-४ को दबाबमा पुगेको थियो। त्यसपछि रत्नायकेले कप्तान दीपेन्द्रसिंह ऐरीसँग पाँचौं विकेटका लागि ३१ र आरिफ शेखसँग छैटौं विकेटका लागि २६ रनको साझेदारी गरे। ऐरीले १५ तथा आरिफले १० रन बनाए।

चितवनका बलरमध्ये रन्जित कुमारले २ विकेट लिए भने कमल सिंह ऐरी, रिजन ढकाल, उसामा मिर र सलाहुद्दिन खानले समान १-१ विकेट हात पारे।

चितवन १३३ रनमै सीमित

टस जितेर पहिले ब्याटिङ रोजेको चितवनले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३३ रन बनायो। टोलीको भर डाविन मालानको अपराजित पारीमा टिकेको थियो। उनले ५१ बल खेल्दै ९ चौका र २ छक्कासहित ७१ रन जोडे।

ओपनर कमिल मिशारा दोस्रो ओभरमै व्यक्तिगत ४ रनमा आउट भएपछि वान डाउनमा आएका मालानले अन्तिमसम्म ब्याटिङ गरे। सातौं विकेटका लागि उनले सलाहुद्दिन खानसँग ३१ बलमा ४० रनको साझेदारी गरे। आठौं नम्बरमा आएका खानले १६ बलमा १ छक्कासहित १८ तथा कमलसिंह ऐरीले ८ बलमा १ छक्कासहित १० रन बनाए।

चितवनका अन्य ब्याटर दोहोरो अंकमा पुग्न सकेनन्। कमिल मिशारा ४, देव खनाल ६, कप्तान रवि बोपारा १, कुशल मल्ल १, विवेक यादव ३ र उसामा मिर २ रनमा आउट भए भने रिजन ढकाल ४ रनमा अविजित रहे।

सुदूरपश्चिमका लागि कुगेलेइनले ३, रत्नायकेले २ तथा हेमन्त धामी, कप्तान दीपेन्द्रसिंह ऐरी र इशान पाण्डेले समान १-१ विकेट लिए।

अब उपाधिका लागि सुदूरपश्चिमले शनिबार लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछ। यसअघि पहिलो क्वालिफायरमा लुम्बिनीसँगै पराजित भएको सुदूरपश्चिमले दोस्रो क्वालिफायर जितेर फाइनल यात्रा तय गरेको हो।