सुदूरपश्चिम प्रदेश सभाको प्रमुख प्रतिपक्षी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामा मागेको छ। नेकपा संसदीय दलको बिहीबारको बैठकले सत्ता साझेदार एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएकाले शाह राजीनामा दिनुपर्ने निर्णय गरेको हो।
नेकपा संसदीय दलका नेता खगराज भट्टका अनुसार बहुमत गुमाएको सरकारलाई अब सत्तामा रहन नैतिक अधिकार नरहेकोले शाहले तत्काल राजीनामा दिएर नयाँ सरकार गठनको बाटो खोल्नुपर्छ। यसअघि बुधबार मुख्यमन्त्री शाहले आगामी आर्थिक वर्षको बजेट ल्याउने क्रममा एमालेका मन्त्रीहरूलाई बर्खास्त गरेका थिए। त्यसै दिन साँझ एमालेले पनि सरकारलाई दिएको समर्थन फिर्ता लियो।
सुदूरपश्चिम प्रदेश सभामा नेकपा सबैभन्दा ठूलो दल हो। सभामा रहेको २० सांसदसहित नेकपाले आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल सुरु गरेको छ। यसका लागि पाँच सदस्यीय वार्ता टोली गठन गरिएको छ, जसमा संसदीय दलका नेता खगराज भट्टसहित प्रदेशसभा सदस्य प्रकाश रावल, मानबहादुर धामी, खुशीराम चौधरी र रमेश धामी छन्। यो टोलीले अन्य दलसँग छलफल गरी सरकार निर्माणको सम्भावना खोज्ने बताइएको छ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा नेकपासँग निलम्बित सदस्य र सभामुखबाहेक २० सांसद छन्। कांग्रेसका १८ सांसद छन्, जसमध्ये प्रकाशबहादुर देउवा लामो समयदेखि अमेरिकामा छन्। एमालेका ११ र राप्रपाका १ सांसद छन्। एक सदस्यको पद रिक्त छ।

