मुख्य सामग्रीमा जानुहोस्

बाढी र पहिरोले देशभरका प्रमुख राजमार्ग अवरुद्ध, सावधानी अपनाउन प्रहरीको आग्रह

निरन्तरको वर्षाका कारण बाढी र पहिरोले मुलुकका प्रमुख राजमार्गहरू प्रभावित भएका छन्। नेपाल प्रहरीले आज बिहान ६ बजे सार्वजनिक गरेको विवरणअनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न सडकखण्ड पूर्ण वा आंशिक रूपमा…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
बाढी र पहिरोले देशभरका प्रमुख राजमार्ग अवरुद्ध, सावधानी अपनाउन प्रहरीको आग्रह

अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण शुक्रबार बिहानसम्म मुलुकका विभिन्न प्रमुख राजमार्गहरू प्रभावित भएका छन्। नेपाल प्रहरीले आज बिहान ६ बजे सार्वजनिक गरेको विवरणअनुसार केही सडक पूर्ण रूपमा अवरुद्ध छन् भने केहीमा एकतर्फी मात्रै सवारी सञ्चालन भइरहेको छ।

पूर्वी नेपालमा अवरुद्ध सडक

कोशी प्रदेशको इलाम नगरपालिका–९ राजदुवाली (झापा–तालतुङ सडक) खण्डमा अविरल वर्षाका कारण मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त सडकको वैकल्पिक मार्ग भने सञ्चालनमा रहेको प्रहरीले जनाएको छ।

यसैगरी भोजपुर नगरपालिका–५ बोखिमस्थित मध्यपहाडी लोकमार्गमा बाढीका कारण एकतर्फी सवारी सञ्चालन भइरहेको छ। त्यहाँ वैकल्पिक मार्गसमेत प्रयोगमा रहेको जनाइएको छ।

बागमती प्रदेशमा बढी प्रभाव

बागमती प्रदेशमा सबैभन्दा बढी प्रभाव परेको छ। काभ्रेपलाञ्चोकस्थित खुर्कोट–नेपालथोक–काभ्रेभञ्ज्याङ सडकखण्डमा सम्भावित बाढीको जोखिमका कारण बिहीबार साँझ ६ बजेदेखि सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।

मकवानपुरको हेटौंडा–भिमफेदी–बागमती–ललितपुर (कान्तिलोकपथ) सडकखण्डमा पनि सम्भावित बाढी र पहिरोको जोखिमका कारण अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोकिएको छ। भिमफेदी गाउँपालिका–८ भैँसेडाँडादेखि ललितपुरतर्फ भने एकतर्फी सवारी सञ्चालन भइरहेको छ।

यही जिल्लाको बकैया गाउँपालिका–११ घट्टेपाखा क्षेत्रमा पहिरो खसेपछि कान्तिलोकपथ पूर्ण रूपमा बन्द भएको छ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ मा पहिरो खस्दा अरनिको राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको छ।

गण्डकी र लुम्बिनीमा सडक अवस्था

गण्डकी प्रदेशमा कास्कीको अन्नपूर्ण गाउँपालिका–८ सार्दीखोला क्षेत्रमा अविरल वर्षाका कारण नयाँपुल–घान्द्रुक सडकखण्डमा एकतर्फी सवारी सञ्चालन भइरहेको छ। बागलुङको काठेखोला गाउँपालिका–६ इनारपानीस्थित मध्यपहाडी लोकमार्गमा पनि पहिरोका कारण एकतर्फी सवारी सञ्चालन गरिएको छ।

लुम्बिनी प्रदेशअन्तर्गत अर्घाखाँचीको पाणिनी गाउँपालिका–२ डुङ्गेखोला क्षेत्रमा पहिरोका कारण सालझण्डी–ढोरपाटन सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। गुल्मीमा भने तीन स्थानमा पहिरोका कारण सडक प्रभावित भएका छन्। कालीगण्डकी गाउँपालिका–२ रानीवास तथा वडा नं. ५ पुर्तिघाट क्षेत्रमा कालीगण्डकी करिडोरमा एकतर्फी सवारी सञ्चालन भइरहेको छ। त्यस्तै, रुरु गाउँपालिका–२ साउने क्षेत्रमा रिडी–वामी सडकखण्ड पनि एकतर्फी रूपमा सञ्चालनमा रहेको प्रहरीले जनाएको छ।

प्रहरीले वर्षाका कारण प्रभावित सडकमा यात्रा गर्दा आवश्यक सावधानी अपनाउन तथा यात्रा अघि सम्बन्धित निकायबाट सडकको अवस्थाबारे जानकारी लिन सर्वसाधारणलाई आग्रह गरेको छ।