गएराति वर्षासँगै आएको पहिरोले अवरुद्ध नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ सडकखण्ड आज बिहानबाट दुईतर्फी सञ्चालनमा आएको छ। पहिरो पन्छाउने काम सकिएपछि दुवै सडकखण्डमा सवारी साधन सहज रूपमा चल्न थालेको प्रहरीले जनाएको छ।
भक्तपुर र काभ्रेको सिमाना साँगा क्षेत्रमा पनि पहिरो खसेको भए तापनि त्यहाँ सवारी आवागमन भने अवरुद्ध नभएको प्रहरीको भनाइ छ। कान्ति लोकपथ भने अझै पनि पहिरोका कारण बन्द रहेको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका अनुसार अहिले उपत्यकाबाट भित्रिने र बाहिरिने सबै नाकाहरू सामान्य रूपमा सञ्चालनमा रहेका छन्। कान्ति लोकपथबाहेक अन्यत्र कुनै समस्या नरहेको जानकारी प्रहरीले दिएको छ।







