कालीकोटको तिलागुफा–११ कामखेतका ४८ वर्षीय टेकबहादुर शाहीले शिक्षण छाडेर स्याउ खेतीलाई पेशा बनाए। यसै वर्ष उनले कर्णाली प्रदेश मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार जितेका छन्। बुधबार जिल्ला कृषि विकास कार्यालय कालीकोटले आयोजना गरेको समारोहमा उनले ३० हजार रुपैयाँ नगद र प्रमाणपत्र प्राप्त गरे।
सानैदेखि शिक्षक बन्ने सपना देखेका शाहीले २०५३ मा एसएलसी उत्तीर्ण गरेपछि शिक्षा क्याम्पस सुर्खेतबाट २०५६ मा आइएड पास गरे। तर उच्च शिक्षा नलिई सरकारले हेलिकोप्टरमा ढुवानी गरेर वितरण गरेको स्याउका बिरुवा रोप्न गाउँ फर्किए। २०५६ मा उनले तिलागुफा–११ को भट्टेडी पाखोमा कृषि विकास कार्यालयले दिएका ३ सय बिरुवा रोपे। २०६२ मा हुँदा उनी गाउँको कालिका प्राविमा शिक्षक बने, तर कम तलब र स्याउको स्याहारमा समय नपुगेपछि एक वर्षमै शिक्षण छाडेर २०६३ देखि पूर्णरूपमा स्याउ खेतीमा लागे।
हाल उनको ४८ रोपनी जमिनमा फैलिएको बगैंचामा २२५० स्याउका बिरुवा छन्, जसमध्ये १८ सय रुख फल्छन्। यसबाहेक ५ सय ओखरका रुख पनि फलिरहेका छन्। गत वर्ष १५ मेट्रिक टन स्याउ बेचेर १६ लाख रुपैयाँ आम्दानी गरेको उनले बताए। 'यस वर्ष स्याउ निकै फलेको छ, २० मेट्रिक टन उत्पादन हुन्छ होला,' उनले भने। उनले २०६३ मा प्रतिकेजी २५ रुपैयाँमा बेचेको स्याउ गत वर्ष कर्णाली राजमार्गको गाल्जेसम्म झारेर प्रतिकेजी ११० रुपैयाँमा बेचे।
शाहीकी पत्नी बिजासहित दाजु श्रीबम शाहीको परिवारका ६ जना पूर्णरूपमा स्याउ फार्ममा काम गर्छन्। बगैंचामा अन्य १० जनालाई रोजगारी दिएका उनले गत वर्षको १६ लाख आम्दानीमध्ये ६ लाख कामदारको ज्यालामा खर्च भएर १० लाख बचत गरेको बताए। स्याउ टिप्ने र ढुवानी गर्ने बेला दैनिक ५०–६० जनालाई काममा लगाउने गरेको उनले सुनाए। उनको बगैंचामा रोयल डेलिसियस, रेड डेलिसियस, गोल्डेन र जोनाथन जातका स्याउ छन्। स्याउबाहेक सिमी र आलु पनि उत्पादन हुन्छ। उनले २० वटा गाई–गोरु, १० वटा भैंसी र १५ वटा बाख्रा पालेका छन्, जसको मल बगैंचामा प्रयोग हुन्छ। अर्गानिक स्याउ भएकाले बजारको समस्या नभएको उनले बताए।
शाहीले २०६९ मा जिल्ला कृषि विकास कार्यालयबाट जिल्लाकै उत्कृष्ट कृषक पुरस्कार पाएका थिए। २०७० मा राष्ट्रियस्तरको प्रतिस्पर्धामा तेस्रो, २०७५ मा तिलागुफा नगरपालिका तथा जिल्लास्तरमा प्रथम भएका उनी यस वर्ष प्रदेशस्तरमा प्रथम भएका हुन्। उनले आफ्नै नामबाट टेक्सिस नर्सरी उद्योग दर्ता गरेर कारोबार गरिरहेका छन्।
पुरस्कार वितरण समारोहमा खाँडाचक्र–६ दाहाका ओखर तथा टिमुर किसान जनकबहादुर शाहीले २० हजार रुपैयाँसहित दोस्रो र रास्कोट–९ का गोकर्ण न्यौपानेले १५ हजार रुपैयाँसहित तेस्रो स्थान प्राप्त गरे। जिल्ला कृषि विकास कार्यालयका निमित्त प्रमुख दिवाकर पन्तका अनुसार शाही प्रथम भएका हुन्।

