काठमाडौँ — जापानको आइची/नागोयामा हुने २० औं एसियाली खेलकुद (एसियाड)को तयारीका लागि नेपाली उसु टोली चीनको कुन्मिङमा प्रशिक्षण गर्ने भएको छ। नेपालस्थित चिनियाँ दूतावासको सहयोगमा खेलाडी युनान विश्वविद्यालयमा तालिम लिनेछन्।
थाउलो विधाका खेलाडीमा हरि गोले, राजीव तामाङ, दीपक हमाल, विजय सिन्जाली र सविता राई छन्। एसियाडका लागि छनोट भएकी सुस्मिता तामाङ चीनमै रहेकाले त्यतैबाट टोलीसँग सहभागी हुने छिन्। प्रशिक्षकमा प्रकाश महर्जन रहेका छन्।
एसियाड टोलीबाहेक खेलाडी निमा घर्तीमगर र प्रशिक्षक नविन बस्नेत पनि टोलीसँगै चीन जानेछन्। नेपाल उसु महासंघका महासचिव नवराज ढुंगनाका अनुसार तत्काललाई खेलाडी एक महिनाका लागि प्रशिक्षणमा राखिने र थप एक महिना त्यही प्रशिक्षण गराउन पहल भइरहेको छ। उनले एसियाडमा सहभागी हुने सान्सौं खेलाडीको पनि युनानमै प्रशिक्षणका लागि प्रयास भइरहेको बताएका छन्।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहता र चिनियाँ दूतावासका कन्सुलर वाङ दोङले शुक्रबार बिदाइ गरेका थिए। टोली आइतबार चीनतर्फ प्रस्थान गर्नेछ।
सदस्य–सचिव मेहताले वैदेशिक प्रशिक्षणले खेलाडीको मनोबल उच्च बनाउने बताउँदै एसियाडमा उत्कृष्ट नतिजाका लागि शुभकामना दिए। उनले प्रशिक्षणका लागि सहजीकरण गरिदिएकोमा चीन सरकारप्रति आभार पनि व्यक्त गरे। कन्सुलर डोङले युनान विश्वविद्यालयले विगतमा पनि नेपालसँग खेल क्षेत्रमा सहकार्य गरेको स्मरण गर्दै खेलाडीले उच्चस्तरको तालिम प्राप्त गर्ने बताए।

