मुख्य सामग्रीमा जानुहोस्

चीनको चोङकिङमा पहिरो : आठ जनाको मृत्यु, ३४ बेपत्ता

चीनको दक्षिणपश्चिमी सहर चोङकिङको पेङशुई काउन्टीमा शुक्रबार बिहान गएको पहिरोमा कम्तीमा आठ जनाको मृत्यु भएको छ भने ३४ जना बेपत्ता छन्। दश जनालाई उद्धार गरी अस्पताल पुर्याइएको छ भने एक हजार १०० भन्दा बढीलाई सुरक्षित स्थानमा…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
चीनको चोङकिङमा पहिरो : आठ जनाको मृत्यु, ३४ बेपत्ता

चीनको दक्षिणपश्चिमी सहर चोङकिङ अन्तर्गत पेङशुई काउन्टीमा शुक्रबार बिहान गएको पहिरोमा कम्तीमा आठ जनाको मृत्यु भएको छ भने ३४ जना अझै बेपत्ता रहेको अधिकारीहरूले शनिबार बताएका छन् । पहिरोले दशभन्दा बढी आवासीय भवन पुरिएको सरकारी सञ्चारमाध्यम सीसीटीभीले जनाएको छ ।

पहिरोमा परेका दश जनालाई उद्धार गरी अस्पताल पठाइएको छ भने एक हजार १०० भन्दा बढी स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ । घटनास्थलको तस्बिर तथा भिडियोमा गगनचुम्बी भवनभन्दा ठूलो चट्टान खसेको र भग्नावशेष भिरालो क्षेत्रमा फैलिएको देखिएको छ । क्षतिग्रस्त भवनमध्ये एकको माथिल्लो भाग पूर्ण रूपमा क्षतिग्रस्त भएको तथा अर्को भवन नजिकै एउटा सवारीसाधन आधा पुरिएको अवस्थामा भेटिएको छ ।

पेङशुई काउन्टीका योजना तथा प्राकृतिक स्रोत प्रमुख वाङ चुआनजुनका अनुसार पहिरोमा करिब १८ हजार घनमिटर चट्टान र भग्नावशेष बगेको थियो, जसमा सबैभन्दा ठूलो चट्टान करिब तीन हजार घनमिटरको रहेको छ । सिसिटिभीका अनुसार घटनास्थलमा शुक्रबार रातिदेखि शनिबार बिहानसम्म निरन्तर वर्षा भएको थियो । स्थानीय मौसम केन्द्रले १९ दशमलव दुई सेन्टिमिटर वर्षा मापन गरेको जनाएको छ । प्रतिकूल मौसमका कारण उद्धार कार्यमा कठिनाइ भए पनि वर्षा केही कम भएपछि उद्धार टोलीले भग्नावशेष र नदी किनार क्षेत्रमा खोजी कार्य तीव्र पारेका छन् । उद्धारकर्ताहरू अस्थिर चट्टान र थप पहिरोको जोखिमबीच खोजी गरिरहेका छन् । अधिकारीहरूले चट्टान वरपरको खोजी पूरा भएपछि ठूला ढुङ्गा हटाउन ड्रिलिङ तथा विस्फोटक पदार्थ प्रयोग गर्ने तयारी गरेका छन् ।

यसैबीच, चीनको राष्ट्रिय विकास तथा सुधार आयोगले विपद्पछिको पूर्वाधार तथा सार्वजनिक सेवा पुनःस्थापनाका लागि तीन करोड युआन (करिब ४४ लाख अमेरिकी डलर) राहत रकम विनियोजन गरेको छ । वर्षाका कारण आएको उक्त पहिरो वुजियाङ नदी क्षेत्रनजिक भएको हो, जो साना बस्ती र टेरेसयुक्त कास्र्ट पहाडका लागि परिचित छ । पेङशुई काउन्टी चोङकिङको दक्षिणपूर्वी भागमा अवस्थित छ र हुबेई तथा गुइझोउ प्रान्तसँग सीमा जोडिएको छ ।