मुख्य सामग्रीमा जानुहोस्

खाद्य स्वच्छता अनुगमन: होटल–रेस्टुरेन्टमा चरम लापरबाही, देशव्यापी कारबाही

गृहमन्त्री सुधन गुरुङले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि सुरु भएको अनुगमन अभियानले देशभरका होटल तथा रेस्टुरेन्टको खाद्य गुणस्तरमा गम्भीर प्रश्न उठाएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दैनिक अनुगमन गरी ठूलो…

विश्वपत्र संवाददाता

· ३ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
खाद्य स्वच्छता अनुगमन: होटल–रेस्टुरेन्टमा चरम लापरबाही, देशव्यापी कारबाही

गृहमन्त्री सुधन गुरुङले अम्लेटमा माछाको काँडा भेटिएपछि होटल तथा रेस्टुरेन्टको खाद्य गुणस्तरमाथि उठेको प्रश्नले देशव्यापी बजार अनुगमनलाई तीव्रता दिएको छ। गत असार ९ गते चितवनस्थित लर्डस् होटलमा भएको उक्त घटनापछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, वाणिज्य विभाग, स्थानीय प्रशासन र स्थानीय तहहरूले संयुक्त रूपमा गरेको अनुगमनले देशभरका होटल र खाद्य व्यवसायमा चरम लापरबाही रहेको देखाएको छ।

विभागले सार्वजनिक गरेको विवरणअनुसार अनुगमनका क्रममा भान्सामा साङ्ला र अन्य किरा भेटिएका घटनादेखि मासु र मिठाईमा प्रतिबन्धित अखाद्य रासायनिक रङ मिसावट गरेको फेला परेको छ। त्यस्तै, महिनौंसम्म एउटै तेल प्रयोग गरेको र तेलको टोटल पोलार मटेरियल (टीपीएम) मापदण्डभन्दा धेरै घातक भेटिएको छ। विभागकी प्रवक्ता डा. बालकुमारी शर्माले उजुरी र गुनासाका आधारमा 'आकस्मिक र्यापिड रेस्पोन्स मोडालिटी तथा संयुक्त अनुगमन' गरी कैफियत फेला पारेर कानुनी कारबाही अगाडि बढाइएको बताइन्।

काठमाडौं उपत्यकाका घटनाक्रम

१९ असारमा न्युरोडस्थित कर्नर पोइन्ट रेस्टुरेन्ट एन्ड बारमा गरिएको अनुगमनमा म्याद गुज्रिएको फ्रुट सिरप, मरेको साङ्लो भएको तेल र फ्रिजमा अव्यवस्थित भण्डारण भेटिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम २ लाख एक हजार रुपैयाँ जरिवाना गर्यो। त्यहाँ प्रयोग भइरहेको तेलको टीपीएम २२ प्रतिशत मापन भएको थियो। असार २४ गते मध्यपुर थिमीको जिरे खुर्सानी दरबार रेस्टुरेन्टमा भएको अनुगमनमा अखाद्य मासु फेला परेपछि प्रयोगशाला परीक्षणमा स्वास्थ्यका लागि हानिकारक सूक्ष्म जीवाणुको उपस्थिति पुष्टि भयो। करिब १४.२ केजी कुखुराको काँचो मासु, तन्दुरी मासु र स्रोत नखुलेको मासु रोक्का गरी रेस्टुरेन्टलाई २ लाख ५ हजार रुपैयाँ जरिवाना गरियो।

२३ असारमा दरबारमार्गस्थित द ब्ल्याक गोल्ड रेस्टुरेन्टमा कृत्रिम खाद्य रङको अनुचित प्रयोग र म्याद गुज्रिएको खाद्य रङ भेटियो। चण्डोलको एक्सप्रेस इट्समा अनुगमन गर्दा म्याद सकिएको चाउमिन र ३८ प्रतिशत टीपीएम भएको खराब तेल नष्ट गरियो। त्यस्तै, लैनचौरको गाउँबेसी थकाली, ठमेलको भागवती कोल्ड स्टोर र ललितपुरको इरानी चियामा समेत म्याद गुज्रिएका सामग्री र सरसफाइको कमी भेटिएपछि कारबाही गरियो।

मधेश प्रदेशमा पनि उस्तै समस्या

काठमाडौं उपत्यका बाहिर पनि खाद्य स्वच्छताको अवस्था गम्भीर रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरको अनुगमनले पुष्टि गरेको छ। २३ असारमा मधेश प्रदेशका मन्त्री फकिरा महतो समेतको टोलीले पूर्व–पश्चिम राजमार्ग आसपासका ९ होटल तथा रेस्टुरेन्टको अनुगमन गर्दा धनुषाको बौबा स्टाफ लाइन होटलमा माछा–मासुमा कृत्रिम रङ प्रयोग, तेलको टीपीएम ५० प्रतिशत भएको र भान्सा तथा भाडा माझ्ने ठाउँ एउटै भएको फेला परेपछि २५ हजार रुपैयाँ जरिवाना गरी तीन केजी माछा र पाँच केजी मासु नष्ट गरियो।

पानी तथा तेल उद्योगमा बेथिति

रेस्टुरेन्ट मात्र नभई पानी र तेल उद्योगमा पनि अनुगमन बढाइएको छ। टोखाको एनएस ग्रुपमा सरसफाइ र प्रशोधन कक्षको जीर्ण अवस्था भेटिएपछि ४४ थान खराब जार नष्ट गरियो। बसुन्धराको अधिकारी तेल मिलमा प्रशोधन र भण्डारण कक्ष छुट्ट्याउन निर्देशन दिइयो। चन्द्रागिरीको रोयल स्प्रिङमा पुराना जारहरू नष्ट गरी पानीको नमूना परीक्षणका लागि पठाइयो। धापाखेलको रश्मी एण्ड रोजन डेरीमा लेबलविहीन सामग्री भेटिएपछि १५ हजार रुपैयाँ जरिवाना गरियो।

व्यवसायी र सरकारी प्रतिक्रिया

रेस्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (रेबान) का पूर्वअध्यक्ष तेजेन्द्रनाथ श्रेष्ठले खाद्य सुरक्षा प्रणालीमा सुधारको खाँचो औंल्याउँदै सञ्चालनअघि अनिवार्य तालिमको व्यवस्था र विशिष्टीकृत तालिम केन्द्र स्थापना गर्नुपर्ने बताए। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सूचना अधिकारी डा. भक्तबहादुर केसीले उपभोक्ता सचेतना नै स्वास्थ्य सुरक्षाको पहिलो ढोका भएको बताउँदै उपभोक्ताका गुनासो सम्बोधन गर्न 'हेलो स्वास्थ्य' (टोलफ्री १११५) मार्फत उजुरी दिन सकिने जानकारी दिए। गत आर्थिक वर्षको जेठ मसान्तसम्म ६ हजारभन्दा बढी गुनासो रेकर्ड भएको मन्त्रालयको तथ्यांक छ।