प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिले आइतबार बसेको बैठकमा देशभरका बाल सुधारगृहको अवस्था सुधार्न सरकारलाई चारबुँदे निर्देशन जारी गरेको छ। समितिकी सभापति समीक्षा बास्कोटाले उक्त निर्देशन सार्वजनिक गरेकी हुन्।
समितिको बैठकले 'बाल सुधारगृहमा रहेका बालबालिकाहरूको मानवअधिकारको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमिति' ले पेस गरेको प्रतिवेदनमाथि छलफल गर्दै यी निर्देशन दिएको हो। बास्कोटाले उपसमितिको प्रतिवेदन र बैठकमा प्राप्त रचनात्मक सुझावहरूलाई समेटेर परिमार्जित प्रतिवेदन आगामी बैठकमा पेस गरिने बताइन्।
भौतिक पूर्वाधार र क्षमता अभिवृद्धिमा जोड
समितिले रुपन्देहीस्थित सुधारगृहलाई तत्काल जिल्ला समन्वय समिति रुपन्देहीको नवनिर्मित भवनमा स्थानान्तरण गर्न निर्देशन दिएको छ। स्थलगत अनुगमनले उक्त भवन साँघुरो र अनुपयुक्त रहेको देखाएकाले यो निर्णय गरिएको हो। यसका लागि महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय, गृह मन्त्रालय र भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग समन्वय गर्न भनिएको छ।
सुधारगृहहरूमा बढ्दो चाप र सीमित भौतिक पूर्वाधारलाई मध्यनजर गर्दै तत्काल वैकल्पिक प्रबन्ध मिलाउन पनि समितिले निर्देशन दिएको छ। बास्कोटाले बालबालिकाको अवस्था र आवश्यकता अनुकूल राख्ने प्रबन्ध मिलाउन र सरोकारवाला निकायहरूसँग सहकार्य गरी शीघ्र कार्य सुरु गर्न मन्त्रालयलाई निर्देशन दिइन्।
पोषण व्यवस्थापनमा सुधारको आवश्यकता
समितिले बाल सुधारगृहमा रहेका बालबालिकाले हाल कैदीबन्दीसरह पाउँदै आएको दैनिक 'सिदा' र रकम अपर्याप्त रहेको उल्लेख गर्दै तत्काल सुधार गर्न भनेको छ। बालबालिकाको उमेर तथा शारीरिक आवश्यकतालाई ध्यानमा राखी पोषण र खाद्य व्यवस्थापनका लागि आवश्यक निर्णय गरी कार्यान्वयन गर्न महिला तथा गृह मन्त्रालयलाई निर्देशन दिइएको छ।

