मुख्य सामग्रीमा जानुहोस्

बाढीपहिराले इलाम, पाँचथर र ताप्लेजुङको सडक सञ्जाल ठप्प

निरन्तर वर्षापछि आएको बाढीपहिरोले मेची राजमार्ग र वैकल्पिक सडकहरु अवरुद्ध हुँदा इलाम, पाँचथर र ताप्लेजुङको सडक सञ्जाल प्रभावित भएको छ। सडक भासिएपछि सवारी सञ्चालन हुन नसकेको र वैकल्पिक मार्ग पनि असुरक्षित रहेको जनाइएको छ।

विश्वपत्र संवाददाता

· २ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
बाढीपहिराले इलाम, पाँचथर र ताप्लेजुङको सडक सञ्जाल ठप्प

बाढीपहिरोले मेची राजमार्गसहित वैकल्पिक मार्गहरु बन्द हुँदा इलामसहित मेचीका पहाडी जिल्लामा सडक सञ्जाल टुटेको छ। मेची राजमार्ग अन्तर्गत माईखोलास्थित राजदुवाली सडक खण्डमा सडक भासिएपछि करिब एक सातादेखि सवारी र ढुवानी साधन सञ्चालन हुन सकेको छैन। मर्मतपछि दुईचक्के साधन चलाउन प्रयास गरिए पनि सडक भासिने क्रम नरोकिँदा मोटरसाइकलसमेत सञ्चालन हुन नसकेको स्थानीयले बताएका छन्।

माईखोला राजदुवाली खण्डको वैकल्पिक मार्ग सिमलगोलाई–तिल्केनी सडक पनि बाढीले अवरुद्ध भएको छ। जोगमाई खोलाको डाइभर्सनमा बाढीले क्षति पुर्याएपछि यो मार्ग भरपर्दो नरहेको जनाइएको छ। त्यस्तै, इलाम–झापा जोड्ने केचना–कञ्चनजङ्गा फास्ट ट्र्याकको पुवा खोला डाइभर्सनमा पनि बाढीले क्षति पुर्याएको छ। डाइभर्सन माथिबाट धमिलो पानी बग्नुका साथै वारिपारिको जगमा क्षति पुग्ने समस्या दोहोरिइरहेकाले यो सडक यात्राका लागि सुरक्षित नरहेको चालक र यात्रुहरु बताउँछन्।

वैकल्पिक मार्गमा बेलीब्रिजको प्रतीक्षा

सडक डिभिजन इलामका प्रमुख पवन भट्टराईका अनुसार वैकल्पिक सडकमा पर्ने पुवा खोला र जोगमाई खोलामा बेलीब्रिज जोड्ने तयारी गरिएको छ, तर भारतबाट बेलीब्रिज आइपुगेको छैन। यसले गर्दा झापादेखि इलाम हुँदै पाँचथर र ताप्लेजुङ पुग्ने सवारी तथा ढुवानी साधन सञ्चालनमा चुनौती थपिएको छ। झापाबाट खाद्यान्नसहितका उपभोग्य वस्तु लिएर पाँचथर र ताप्लेजुङका लागि छुटेका ठूला सवारी साधन माईखोलापारि रोकिएका छन्। इलाम उद्योग वाणिज्य संघले यो समस्या केही दिन यथावत् रहे थप समस्या आउन सक्ने भन्दै संघ र प्रदेश सरकारसँगै सम्बन्धित निकायमा अपिल गरेको छ। संघका अध्यक्ष कृष्ण पौडेलले ट्रकभित्रका सामग्री पानी चुहिएर सड्ने अवस्थामा पुगिसकेको बताए। यातायात र ढुवानीका साधन नियमित नहुँदा इलामको माईखोला वारिका बजारमा इन्धन र खाद्यान्नको मौज्दात सकिन लागेको व्यवसायीहरु बताउँछन्।

तमोर करिडोर र अन्य सडकमा जोखिम

तराईदेखि हिमाली जिल्ला ताप्लेजुङसम्म जोड्ने तमोर करिडोर पनि बाढीपहिरोले प्रभावित भएको छ। यो सडकमा पर्ने धनकुटा र पाँचथरको सीमावर्ती नावाखोलासँगै फिदिम र हिलिहाङको सिमानामा पर्ने हेँवा खोलासहित धनकुटा क्षेत्रका अधिकांश खोलामा पुल छैनन्। पानी पर्नासाथ आउने बाढीले ती खोलानालाबाट गाडी तार्न सम्भव छैन। पछिल्लो समय बिहानैदेखि बाढीको जोखिम बढेकाले यो सडक भएर सवारी साधन नियमित रुपमा आउजाउ गर्न सकेको छैन। यातायात व्यवसायी देविराज कुरुम्वाङले नावाखोलाबाट गाडी तर्ने अवस्था नरहेकाले फिदिमबाट धरान र विराटनगरका लागि छुट्ने सवारी साधन पठाउन नसकिएको बताए। पाँचथर जिल्लाका भित्री सडकहरुमा पनि बाढीपहिरोले क्षति पुर्याएको छ। जोरपोखरी एकतिन मेमेङ, फिदिम फालौट र राँके रवि क्षेत्रमा वर्षासँगै हुस्सु र कुहिरो लागेको र ठाउँ–ठाउँमा पहिरो खसेकाले जोखिम मोलेर यात्रा नगर्न पाँचथरका प्रहरी नायब उपरीक्षक अनिषकुमार कर्णले सचेत गराएका छन्।