काठमाडौँ — देशभर पछिल्लो पाँच दिनमा रोपाइँमा उल्लेखनीय प्रगति भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको कृषि विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार २६ असारसम्म ४९ प्रतिशत रहेको रोपाइँ १ साउनसम्म आइपुग्दा २० प्रतिशतले बढेर ६९.७७ प्रतिशत पुगेको छ ।
विभागको तथ्यांकअनुसार १ साउनसम्म देशभर ९५ लाख ८५ हजार ७४ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भइसकेको छ । प्रदेशगत रूपमा हेर्दा सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी ९०.६७ प्रतिशत रोपाइँ सकिएको छ । लुम्बिनी प्रदेशमा ८०.६५ प्रतिशत, गण्डकीमा ७८.३६ प्रतिशत, बागमतीमा ७७.३३ प्रतिशत, कर्णालीमा ७७.०५ प्रतिशत र मधेश प्रदेशमा ५७.९३ प्रतिशत रोपाइँ भएको छ । कोशी प्रदेशमा भने ५४.८६ प्रतिशत रोपाइँ सकिएको छ, जुन देशकै सबैभन्दा कम हो।
