ताप्लेजुङको सिदिङवा गाउँपालिका–१, कालिखोला निवारे टोलमा मङ्गलबार बिहान आएको पहिरोले जीवनाथ बानियाँको घर पुरेको छ। वडाध्यक्ष गोपाल बानियाँका अनुसार पहिरोले सो घर पूर्णरूपमा क्षतविक्षत बनाएको छ। घरमा बस्दै आएकी स्थानीय विद्यालयकी बालविकास सहजकर्ता सीता बानियाँ र उनका सन्तान भने सुरक्षित छन्। उनीहरू सोमबार दिउँसो घर आसपासको जमिन चर्किएपछि सावधानीका रूपमा छिमेकी दिलबहादुर बानियाँको घरमा बस्न गएका थिए। तर घरको सरसामान भने निकाल्न नपाइएको वडाध्यक्षले बताए।
यसैबीच, सोही क्षेत्रमा मेयरमान बानियाँको घर पनि पहिरोको जोखिममा परेको छ। वडाध्यक्ष बानियाँले मङ्गलबार बिहान ११ बजेतिर उक्त घरको सरसामान धमाधम सार्न थालिएको जानकारी दिए। उनका अनुसार घर ढल्न लागेको र पानी पनि परिरहेको अवस्था छ। पहिरोले मेयरमानको आँगन समेत भत्काएको स्थानीयले बताएका छन्।
पहिरोको जोखिममा रहेका अन्य घरका बासिन्दालाई पनि सुरक्षित स्थानमा सार्ने र क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको छ। यस क्षेत्रमा सोमबारदेखि अविरल वर्षा भइरहेको छ, जसले गर्दा पहिरोको जोखिम थपिएको हो। स्थानीयका अनुसार यो भारतको सिक्किमसँग सीमा जोडिएको गाउँ हो।
