नेपाल आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ को खेलमा नामिबियासँग आठ विकेटले पराजित भएको छ। नेदरल्यान्ड्सको युट्रेक्टमा मंगलबार भएको खेलमा नामिबियाले १५८ रनको सामान्य लक्ष्य ३७.४ ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो।
नामिबियाका ज्यान फ्रिलिङ्कले ८९ बलमा ७८ रनको अविजित इनिङ्स खेल्दै टोलीलाई जिताए। उनले ५१ रन बनाएका सलामी ब्याट्सम्यान माइकल भ्यान लिङ्गेनसँग ९५ रनको साझेदारी गरे। ज्यान निकोल लोफ्टी–इटन १७ रनमा अविजित रहे। नेपालका कप्तान रोहित पौडेल र नन्दन यादवले एक–एक विकेट लिए।
नेपालको ब्याटिङ
पहिले ब्याटिङको निम्तो पाएको नेपाल ४६.५ ओभरमा १५७ रनमा अलआउट भयो। रोहित पौडेलले सर्वाधिक ३१ रन बनाए, जसमा उनले ६ चौका प्रहार गरे। दीपेन्द्र सिंह ऐरीले ३०, गुल्सन झाले २०, करण केसीले १८ र आसिफ शेखले १६ रनको योगदान दिए।
नामिबियाका जेजे स्मिटले ६ विकेट लिएर नेपालको ब्याटिङ क्रम ध्वस्त पारे। ज्याक ब्रासेल र बर्नार्ड स्कोल्ट्सले दुई–दुई विकेट लिए।
अर्को खेल
नेपालले यही बिहीबार उही मैदानमा आयोजक नेदरल्यान्ड्सको सामना गर्नेछ।
