मुख्य सामग्रीमा जानुहोस्

दाङमा पानी ट्याङ्कीभित्र श्वासरोधले दुई जनाको मृत्यु

दाङको टुल्सीपुर–६ राजौरामा निर्माणाधीन घरको पानी ट्याङ्कीभित्र फसेका दुई जनाको श्वासरोधले मृत्यु भएको छ। मृतकमा एक ठेकेदार र एक मिस्त्री रहेको प्रहरीले जनाएको छ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर

दाङको टुल्सीपुर उप–महानगरपालिका–६ राजौरामा रहेको निर्माणाधीन घरको भूमिगत पानी ट्याङ्कीभित्र श्वासरोधका कारण बुधबार दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा सल्यानको माल्टा घर भई हाल टुल्सीपुर–९ डोघरे बस्दै आएका कमल गिरी र घनश्याम गिरी रहेको प्रहरीले जनाएको छ। कमल ठेकेदार हुन् भने घनश्याम मिस्त्रीको रूपमा कार्यरत थिए। उनीहरूले संयुक्त रूपमा उक्त निर्माण स्थलमा काम गरिरहेका थिए।

प्रहरीका अनुसार ती दुई जना भूमिगत पानी ट्याङ्कीभित्र फर्मा हटाउन गएको र त्यही क्रममा श्वासरोध भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ। ट्याङ्कीभित्र फसेको जानकारी पाएपछि स्थानीयवासीले बुधबार बिहान प्रहरीलाई खबर गरेका थिए।

क्षेत्रीय प्रहरी कार्यालय टुल्सीपुरका प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीले ट्याङ्की तोडेर शव निकाल्ने प्रयास भइरहेको जानकारी दिए। उनका अनुसार घर स्थानीय व्यवसायी मणिराम चन्दको हो। प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ।