मुख्य सामग्रीमा जानुहोस्

बाजुरामा अविरल वर्षाका कारण पहिरो : १६ घर प्रभावित, स्थानान्तरणको माग

बाजुराको बडीमालिका नगरपालिका–६ मा अविरल वर्षाका कारण पहिरो जाँदा १६ घर प्रभावित भएका छन्। प्रहरीका अनुसार कुनै मानवीय वा पशुधनको क्षति भएको छैन। स्थानीयले सुरक्षित स्थानान्तरण र राहतको माग गरेका छन्।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर

बाजुराको बडीमालिका नगरपालिका–६ मा अविरल वर्षाका कारण पहिरो गएको छ, जसबाट कम्तीमा १६ घर प्रभावित भएका छन्। तीमध्ये ६ घर तत्काल खतरामा परेका छन् भने १० वटा घर अझै उच्च जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सोमबार राति अविरल वर्षापछि कोर्द गाउँमा जमिन धसिएको र पहिरो गएको सूचना प्राप्त भएपछि प्रहरी उपरीक्षक शैलेश्वरी बोहराको नेतृत्वमा बडीमालिका नगरपालिकाका प्रतिनिधिसहितको संयुक्त टोलीले मङ्गलबार घटनास्थलको निरीक्षण गरेको थियो।

निरीक्षणबाट घरमाथि र तल पहिरो गएपछि ६ परिवार अत्यन्त जोखिममा रहेको पुष्टि भएको छ। यस्तै, थप १० परिवार पहिरोको जोखिममा रहेको प्रहरीले बताएको छ।

अत्यन्त जोखिममा रहेका परिवारहरूमा प्रसादे साउद, गोरे साउद, अम्मर साउद, भक्त साउद, लाल साउद र खडक साउद रहेको प्रहरीले जनाएको छ। यसैगरी, बल साउद, मान साउद, शिव बडुवाल, जया साउद, नार साउद, भने साउद, गोरख साउद, खाँते ल्वार र पवन बि.के. को घर मध्यम जोखिममा रहेको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक नरेश बहादुर शाहीले अहिलेसम्म कुनै मानवीय वा पशुधनको क्षति नभएको जानकारी दिए। पीडित परिवारहरू विस्थापित भइनसके पनि स्थानीयले सुरक्षित स्थानान्तरण र राहतको प्रबन्ध मिलाउन माग गरेका छन्। निरन्तर वर्षाका कारण थप पहिरो जान सक्ने र बस्ती खतरामा पर्न सक्ने भन्दै उनीहरूले चासो व्यक्त गरेका छन्।

प्रहरीले घटनास्थलको क्षेत्रगत मूल्याङ्कन प्रतिवेदन तयार पारी राहत तथा उद्धारका लागि सम्बन्धित निकायमा सिफारिस पठाइसकेको छ। अधिकारीहरूले मनसुन जारी रहेकाले जिल्लाका अन्य बस्तीहरू पनि पहिरोको जोखिममा रहेको चेतावनी दिएका छन्।