काभ्रेपलाञ्चोक – अमेरिकी डलर सस्तोमा साटिदिने प्रलोभन देखाएर लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे–३ का २६ वर्षीय सुनिल डुम्जन रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।
प्रहरीका अनुसार डुम्जनले विभिन्न व्यक्तिलाई अमेरिकी ५० डलरको नोट देखाएर उक्त रकम साटिदिने झुटो प्रस्ताव राखी ४८ लाखभन्दा बढी ठगी गरेका थिए । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी रवीन विष्टका अनुसार अभियुक्तले तीन फरक–फरक मितिमा तीन जना व्यक्तिलाई ठगेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
पहिलो घटना गत चैत्र ३ मा नगरकोटको जङ्गलमा भएको थियो । त्यहाँ डुम्जनले ५० डलरको नोट देखाई ५ हजार डलर दिने भन्दै एक जनाबाट ५ लाख रुपैयाँ लिएको आरोप छ । त्यसैगरी, असार ५ गते बनेपा–३ स्थित शशीपानी जङ्गलमा अर्को व्यक्तिलाई ५५ हजार डलर दिने प्रलोभन देखाएर २३ लाख रुपैयाँ ठगी गरेको पाइएको छ । असार ६ गते बनेपा–१ रानीकोट जङ्गलमा २० हजार डलर दिने भन्दै २० लाख रुपैयाँ ठगी गरेको आरोप पनि उनीमाथि छ ।
प्रहरीका अनुसार अभियुक्तले विभिन्न मोबाइल नम्बर प्रयोग गरी योजनाबद्ध रूपमा सर्वसाधारणलाई सम्पर्क गरेर आर्थिक प्रलोभनमा पारी ठगी गर्दै आएको खुलेको छ । घटनामा प्रयोग भएको टीभीएस स्कुटर, मोबाइल फोन, सिम कार्ड, कपडा, कापी तथा नगद २३ हजार ६० रुपैयाँ प्रहरीले बरामद गरेको छ ।
पक्राउ परेका डुम्जनविरुद्ध ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा जिल्ला अदालत काभ्रेपलाञ्चोकबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
