मुख्य सामग्रीमा जानुहोस्

नेपाल विद्युत् प्राधिकरणद्वारा दुवै हात गुमाएका बालकलाई १५ लाख ७१ हजार क्षतिपूर्ति

नेपाल विद्युत् प्राधिकरणले नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को त्रिवेणी गाउँपालिका–२ घुसेनीमा विद्युत् तार छुँदा दुवै हात गुमाएका एक बालकलाई कुल १५ लाख ७१ हजार २५० रुपैयाँ क्षतिपूर्ति दिने भएको छ। उपचार खर्च, क्षतिपूर्ति र…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर

नेपाल विद्युत् प्राधिकरणले नवलपरासी (बर्दघाट–सुस्तापूर्व) त्रिवेणी गाउँपालिका–२ घुसेनीमा ११ केभी विद्युत् प्रसारण लाइनको तार छुँदा दुवै हात गुमाएका बालकलाई क्षतिपूर्ति दिने निर्णय गरेको छ। प्राधिकरण सञ्चालक समितिको बैठकले उपचार खर्च, क्षतिपूर्ति र कुरुवा खर्चसहित कुल १५ लाख ७१ हजार २५० रुपैयाँ स्वीकृत गरेको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले जनाएको छ।

दुर्घटना त्रिवेणी गाउँपालिका–२ स्थित एउटा आमा समूहको भवनको छतमा खेलिरहेको बेला भएको थियो। बालकले नजिकै रहेको ११ केभी प्रसारण लाइनको तार छोएपछि गम्भीर घाइते भएका थिए।

रकम वितरण व्यवस्था

स्वीकृत क्षतिपूर्ति रकम प्राधिकरणको सम्बन्धित वितरण केन्द्रमार्फत पीडित बालकको परिवारलाई उपलब्ध गराइनेछ। प्राधिकरणले दुर्घटना क्षतिपूर्ति विनियमावली, २०६७ को विनियम ११ को उपनियम १ बमोजिम क्षतिपूर्ति र औषधि उपचारको खर्च भुक्तानी गर्दै आएको छ। उक्त विनियमावलीअनुसार विभिन्न तहका अधिकारीहरूले निर्णय गर्न सक्ने रकमको सीमा तोकिएको छ। २ लाख रुपैयाँसम्म विभागीय प्रमुख, २ देखि ५ लाखसम्म उपकार्यकारी निर्देशक, ५ देखि १० लाखसम्म मुख्य प्रशासकीय अधिकृत र १० लाखभन्दा बढीको रकम सञ्चालक समितिले निर्णय गर्नुपर्छ। यस दुर्घटनाको क्षतिपूर्ति १० लाखभन्दा माथि भएकाले सञ्चालक समितिको निर्णय आवश्यक परेको हो।

मन्त्रालयको निर्देशन

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराज भक्त श्रेष्ठको सचिवालयका अनुसार कानुनी व्यवस्था र विगतका नजीरहरूका आधारमा पीडित परिवारलाई सहयोग गर्न लागिएको हो। मन्त्रालयले प्राधिकरणलाई विद्युतीय दुर्घटना न्यूनीकरणका लागि संरचनाको मर्मत, जोखिमयुक्त क्षेत्रमा निगरानी बढाउन, सुरक्षा सतर्कता बढाउन र नागरिकलाई जनचेतना तथा पूर्वसूचनाका कार्यलाई तीव्रता दिन निर्देशन दिएको छ। हरेक वर्ष विद्युतीय दुर्घटनाबाट हुने जनधनको क्षतिको तथ्यांक चिन्ताजनक रहेको उल्लेख गर्दै मन्त्रालयले नागरिकको सचेतनालाई पनि अपरिहार्य ठहराएको छ।