कैलाली जिल्लाकी एक महिलाको आत्मदाह प्रयासपछि मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका–७ की ३५ वर्षीया ज्योति चौधरीले शनिबार साँझ आफ्नै घरमा आगो लगाएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
आगो लगाउँदा चौधरीको शरीरको करिब ६० प्रतिशत भाग जलेको थियो। उनलाई प्रारम्भिक उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो। पछि चिकित्सकले उनलाई थप उपचारका लागि नेपालगन्जको भेरी अस्पताल रेफर गरेका थिए। तर परिवारले उनलाई काठमाडौं लैजाने निर्णय गरेको प्रहरीले बताएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख सुपरिटेन्डेन्ट कैलाश सिंह विष्टका अनुसार चौधरीको आइतबार बिहान काठमाडौं जाने बाटोमा मृत्यु भएको हो। प्रहरीले घटनाको थप अनुसन्धान सुरु गरेको जनाएको छ।
