केही दिनदेखि तराई–मधेशका विभिन्न जिल्लामा देखिएको तनावका बीच प्रधानमन्त्री बालेन शाहले बिहीबार साँझ राष्ट्रका नाममा सम्बोधन गरेका छन्।
सम्बोधनका क्रममा उनले सबै पक्षलाई हरेक कुरामा सतर्क रहन आग्रह गरे। सामाजिक सञ्जाल वा अन्य माध्यमबाट मिथ्या सूचना प्रवाह हुन सक्ने र त्यसले समाजमा पार्न सक्ने असरबारे पनि प्रधानमन्त्रीले सजग रहन आग्रह गरेका छन्।
विशेषगरी मधेशका प्रदर्शनलाई मध्यनजर गर्दै प्रधानमन्त्रीले सम्बोधनको अन्त्यतिर मैथिली भाषामा पनि आग्रह गरेको सचिवालय स्रोतले बताएको छ।
मैथिलीमा के भने ?
प्रधानमन्त्री शाहले मैथिली भाषामा शान्ति, सद्भाव, भाइचारा र राष्ट्रिय एकता कायम राख्न हार्दिक अपिल गरेका छन्। नागरिक, नागरिक समाज, धार्मिक समुदाय, आदरणीय अगुवा, राजनीतिक दल र जिम्मेवार सञ्चारमाध्यमलाई सम्बोधन गर्दै उनले धैर्यता र संयमता अपनाउन आग्रह गरे।
‘हम आम नागरिक, नागरिक समाज, धार्मिक समुदाय, सब आदरणीय अगुवा, सब राजनीतिक दल आ जिम्मेवार सञ्चारके माध्यम सबके धैर्यता आ संयमता अपना क शान्ति, सद्भाव, भाइचारा आ राष्ट्रिय एकता कायम राख के लेल सरकार के तरफ स हार्दिक अपिल के रहल छी,’ प्रधानमन्त्रीले भनेका छन्।
सम्बोधनको पृष्ठभूमि
तराई–मधेशका विभिन्न जिल्लामा केही दिनदेखि तनावपूर्ण अवस्था कायम छ। यस्तै परिस्थितिमा प्रधानमन्त्री शाहले राष्ट्रका नाममा सम्बोधन गरेका हुन्।
उनको सम्बोधनले सामाजिक सद्भाव कायम राख्न र मिथ्या सूचनाका कारण समाजमा थप असन्तुलन नआओस् भन्नेतर्फ सचेत गराउने प्रयास गरिएको देखिन्छ।
