जनकपुरधाम, साउन १६ । सरकारी पक्ष र आन्दोलनरत हिन्दुवादी मोर्चाबीच सहमति भएको छ । शनिबार पहिलो र दोस्रो चरणको वार्ता सम्पन्न भएपछि दुवै पक्षबीच सहमति जुटेको धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी भूदेव झाले बताएका छन् ।
वार्तामा आन्दोलनरत पक्षले हिन्दू राष्ट्र कायम राख्ने मागसहित १३ बुँदे मागपत्र प्रस्तुत गरेको थियो । उक्त मागअनुसार नै नेपाल सरकारले अघि बढ्ने गरी दुवै पक्षबीच सहमति भएको झाले जानकारी दिए ।
सुनसरी घटनापछिको तनाव र वार्ता
सुनसरीको घटनाले मधेशमा सिर्जना गरेको तनावलाई कम गर्दै आपसी शान्ति, सद्भाव र सहिष्णुता कायम राख्ने उद्देश्यले यो वार्ता भएको हो । वार्तामा नेपाल सरकारका गृहमन्त्री सुधन गुरुङ, मधेश प्रदेश सरकार र स्थानीय सरकारका प्रतिनिधिहरू सहभागी थिए ।
सोही दिन दिउँसो पहिलो चरणको वार्ता भएको थियो । पहिलो चरणमा आन्दोलनरत पक्षले आफ्ना मागहरू राखेका थिए ।
हिन्दू राष्ट्रमाथि थप छलफल
१३ बुँदे मागमा हिन्दू राष्ट्रको विषय पनि समेटिएको छ । त्यस विषयमा थप छलफल गर्न सरकारलाई तीन महिनाको समय दिएर दुवै पक्षबीच सहमति जुटेको बताइएको छ ।
