मुख्य सामग्रीमा जानुहोस्

चट्टानको काप चिरेर झर्ने गुल्जा झरना आन्तरिक पर्यटकको रोजाइ बन्दै

रुकुमपूर्वको गुल्जा झरना प्राकृतिक सौन्दर्य र साहसिक पदयात्राका कारण आन्तरिक पर्यटकको आकर्षण बन्दै गएको छ। विशाल चट्टानको काप चिरेर सयौं फिट तल खस्ने यो झरनालाई राष्ट्रिय पर्यटकीय गन्तव्य बनाउने योजना गाउँपालिकाले अघि…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर

रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका–४ को घना जंगलभित्र रहेको गुल्जा झरना हाल आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ। समुद्री सतहदेखि करिब तीन हजार दुई सय मिटर उचाइमा अवस्थित यो झरना दुर्गम हिमाली क्षेत्रमा छ।

यसको भौगोलिक बनोटले नै गुल्जालाई अन्य झरनाभन्दा फरक बनाउँछ। सामान्यतया मूल वा खोलाबाट बग्ने अधिकांश झरनाका विपरीत गुल्जा झरना विशाल चट्टानको काप चिर्दै बाहिर निस्किन्छ र सयौं फिट तल झर्छ।

झरनाबाट उठ्ने गर्जन, छेउछाउका अग्ला भीर, बाक्लो हरियाली र चट्टानमा प्राकृतिक रूपमा बनेको साँघुरो गल्छीले प्रकृतिको अद्भुत अनुभूति दिने भएकाले यहाँ पुग्ने आगन्तुकको संख्या बढ्दो छ।

कठिन बाटो र साहसिक यात्रा

गुल्जा झरनासम्मको पहुँच भने जटिल छ। घना जंगल, उकालो–ओरालो र दुर्गम पदमार्ग पार गरेर मात्रै यहाँ पुग्न सकिन्छ। तर, गन्तव्यमा पुग्दा आँखा अगाडि खुल्ने दृश्यले उक्त कठिन यात्रा बिर्साउने पर्यटकहरूको भनाइ छ।

पदयात्रा गरेरै झरना हेर्न पुगेकी सिस्ने गाउँपालिका–४ की करुणा पुनले सामाजिक सञ्जालमा देखेको भन्दा प्रत्यक्ष दृश्य निकै आकर्षक रहेको बताइन्। उनका अनुसार प्राकृतिक वातावरण, झरनाको आवाज र हरियालीले मन लोभ्याउने भएकाले यसको प्रचार देशभर हुनुपर्छ।

संस्कृति र पर्यटनको साझा थलो

झरनाको अवलोकन गर्न आउनेहरू दृश्यमा मात्र रमाउँदैनन्। स्थानीय युवायुवती परम्परागत पोशाक र गहनासहित आएर झरनाको काखमा फोटो तथा भिडियो खिच्न थालेपछि मौलिक संस्कृति पनि पर्यटनसँगै जोडिन थालेको छ।

स्थानीय आसिका विकले प्राकृतिक सम्पदा र मौलिक संस्कृतिलाई एकै ठाउँमा देख्न पाइने बताउँदै ती सम्पदाको संरक्षणसँगै पर्यटन विकास गर्न सके स्थानीयको जीवनस्तर सुधार्न सकिने धारणा राखिन्।

पूर्वाधार र प्रवर्द्धनको योजना

पुथा उत्तरगंगा गाउँपालिकाका अध्यक्ष पुजिराज घर्ती मगरले गुल्जा झरनालाई गाउँपालिकाको महत्वपूर्ण प्राकृतिक सम्पदाका रूपमा संरक्षण गर्ने र पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे। झरनासम्मको पहुँच सहज बनाउने, पदमार्ग स्तरोन्नति गर्ने, पर्यटकीय पूर्वाधार निर्माण गर्ने र राष्ट्रिय स्तरमा प्रचार–प्रसार गर्ने उनको योजना रहेको छ।

स्थानीय जितेन सेतिमहरले गुल्जा झरनाको सौन्दर्य क्यामेराको भन्दा प्रत्यक्ष आँखाले हेर्दा झनै मनमोहक देखिने बताए। प्रचार र पूर्वाधारमा लगानी हुन सके यहाँ पर्यटकको चहलपहल उल्लेख्य रूपमा बढ्नसक्ने उनको भनाइ छ।