मुख्य सामग्रीमा जानुहोस्

वैशाख १ देखि साउन १७ सम्म देशभर चार हजार ५३ विपद्का घटना, १९६ जनाको मृत्यु

गत वैशाख १ देखि साउन १७ गतेसम्म देशभर चार हजार ५३ विपद्का घटना भएका छन्। विपद्बाट १९६ जनाले ज्यान गुमाएका छन् भने एक हजार २१८ जना घाइते भएका छन्। अधिकांश घटना आगलागी, सर्पदंश, पहिरो र हुरीबताससँग सम्बन्धित छन्।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर

गत वैशाख १ गतेदेखि साउन १७ गतेसम्मको अवधिमा देशभर कुल चार हजार ५३ विपद्का घटना भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको विवरणअनुसार सो अवधिमा विपद्बाट १९६ जनाको ज्यान गएको छ भने एक हजार २१८ जना घाइते भएका छन्। चार जना बेपत्ता भएको पनि प्राधिकरणले जनाएको छ।

प्राधिकरणको तथ्यांक अनुसार सो अवधिभर आगलागीका सबैभन्दा धेरै घटना भएका छन्। कुल एक हजार २४ वटा आगलागीका घटना भएका छन्। त्यसपछि सर्पदंशका ७१६, पहिरोका ६८५ र हुरीबतासका ४८० घटना रहेका छन्। चट्याङका २३१, भारी वर्षाका २२७, जनावर आक्रमणका २२५, बाढीका २०० र डढेलोका १९१ घटना भएका छन्। लेक लाग्ने ५७ घटना पनि विवरणमा छन्।

विपद्का प्रकार र क्षति

डुङ्गा पल्टनु र विस्फोटको एक–एक घटना भएको प्राधिकरणको विवरणमा उल्लेख छ। असिना र भूकम्पका चार–चार घटना भएका छन् भने अन्य पाँचवटा घटना पनि समेटिएका छन्। यी विपद्बाट पाँच हजार १८८ घरपरिवार प्रभावित भएका छन्।

सचेतता अपनाउन आग्रह

वर्षायाममा अकस्मात बाढीपहिरो आउने र सर्पदंशको जोखिम हुने भएकाले विशेष सतर्कता अपनाउन प्राधिकरणले सबैलाई आग्रह गरेको छ। विपद्बाट जोगिन पूर्वसावधानी नै उपयुक्त हुने उसको भनाइ छ।

पछिल्लो २४ घण्टा

पछिल्लो २४ घण्टामा देशभर ३४ वटा विपद्का घटना भएका छन्। सो अवधिमा एक जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्। विपद्का कारण २५ जिल्ला प्रभावित भएका छन् भने दुई सडक अवरुद्ध भएका छन्।

पछिल्लो २४ घण्टाका विपद्बाट रु २७ लाख २५ हजार बराबरको अनुमानित क्षति भएको छ। उद्धार र राहतका कामका लागि २७१ प्रहरी परिचालन गरिएको थियो।