नेपालगन्ज उपमहानगरपालिका–११ इदगाह रोडका रिजाउल मुस्तफा मन्जरी (रिजा) र पदमा श्रेष्ठ (सना) को प्रेमकथा धर्मलाई भन्दा मानवतालाई माथि राख्ने उदाहरण बनेको छ। उनीहरूको विवाह भागेर होइन, दुवै परिवारको सहमति र आशीर्वादमा २०६९ फागुन २१ गते भएको थियो। फरक धर्मका कारण सम्बन्ध लुकाउने वा परिवारसँग विद्रोह गर्ने विकल्प उनीहरूले रोजेनन्।
साझा साथीमार्फत भएको पहिलो भेटमै उनीहरूबिचको कुराकानी धर्मकै विषयमा केन्द्रित थियो। सुरुका दिनमा एकअर्काको धर्म र संस्कारप्रति दुवै सहज थिएनन्। समाजका पूर्वधारणाले उनीहरूलाई एकअर्कालाई बुझ्न अप्ठ्यारो पार्यो। यही अवस्थामा उनीहरूले तीन वर्षसम्म एकअर्काका धर्मबारे पढ्ने, बुझ्ने र छलफल गर्ने समय बिताए। कुरान र गीताका शिक्षामा मानवता, प्रेम र सदाचारको साझा भाव देखेपछि उनीहरू सम्बन्धलाई निरन्तरता दिन राजी भए।
परिवारको सहमतिमा विवाह
प्रेमलाई विवाहमा परिणत गर्ने निर्णय गर्दा उनीहरूलाई सबैभन्दा ठुलो चिन्ता परिवारको प्रतिक्रिया थियो। फरक धर्म भएकाले परिवारले सहजै स्वीकार्छन् कि सक्दैनन् भन्ने अन्योल दुवैमा थियो। तैपनि उनीहरूले भागेर विवाह गर्ने विकल्प रोजेनन्। आआफ्ना परिवारसँग प्रेम सम्बन्धबारे खुलेर कुरा राखे। दुवैको परिपक्व सोच र इमानदारिताबाट प्रभावित भएर परिवारले नै उनीहरूको सम्बन्ध स्वीकार गर्यो। आफन्त र समाजका अगुवाहरूको उपस्थितिमा दुवै परिवारको आशीर्वादसहित विवाह भयो।
विवाहपछि पनि उनीहरूले धर्म परिवर्तन गरेनन्। बरु एकअर्काको धार्मिक आस्था र संस्कृतिलाई सम्मान गर्दै दाम्पत्य जीवन अघि बढाए। दुवै परिवार र समुदायले पनि परिवारकै सहमतिमा विवाह भएकाले प्रशंसा गरे।
दुवै धर्मप्रति एकै सम्मान
हाल रिजाउल आफ्नै व्यवसायमा सक्रिय छन् भने पदमा व्यवसायसँगै घरपरिवारलाई अघि बढाइरहेकी छन्। उनीहरूका एक छोरा र एक छोरी दुवै धर्मको सम्मान हुने वातावरणमा हुर्किरहेका छन्। पदमा हिन्दु संस्कारअनुसारका चाडपर्व माइत गएर मनाउँछिन् भने इदलगायत मुस्लिम पर्व पनि उत्तिकै उत्साहसाथ मनाउँछिन्। रिजाउल पनि पत्नीको आस्थाप्रति समान सम्मान व्यक्त गर्छन्।
धर्मका कारण कहिल्यै समस्या नभोगेको यो जोडी सम्बन्धलाई मानवताको आधारमा बुझ्नुपर्ने बताउँछन्। रिजाउलका अनुसार सबै धर्मबिचको वास्तविक भिन्नता भाषा र ग्रन्थमा मात्र हो। सबै धर्मले मानवता, प्रेम र असल आचरणकै शिक्षा दिने भएकाले आफूले कहिल्यै अरूको धर्ममाथि टिप्पणी गर्नु उचित नठानेको उनले बताए।
पदमा पनि धर्मको मूल उद्देश्य शान्ति, एकता र सद्भाव रहेको बताउँछिन्। धर्मका नाममा विभाजन होइन, सम्बन्ध जोडिनुपर्ने उनको धारणा छ। विवाहपछि कहिल्यै कुन धर्म ठुलो भन्ने बहस नगरेको र एकअर्काका संस्कारप्रति सम्मान बढाउँदै लगेको उनी बताउँछिन्। सबै धर्मलाई सम्मान गर्ने बानी बसे समाज आफैँ शान्त, सहिष्णु र सद्भावपूर्ण बन्ने उनको भनाइ छ।
धर्मका नाममा विभाजनका बहस चलिरहेका बेला रिजाउल र पदमाको दाम्पत्य जीवनले फरक सन्देश दिएको छ। उनीहरूका अनुसार सम्बन्ध सफल बनाउन धर्म एउटै हुनुपर्ने होइन, मन र विश्वास मिले पुग्छ। यही कारण उनीहरूको परिवार आज हिन्दु–मुस्लिम सद्भावको नमुना जोडीका रूपमा चर्चामा छ।
