मुख्य सामग्रीमा जानुहोस्

पेट्रोल–डिजेलको मूल्य प्रतिलिटर २०० रुपैयाँ पुग्यो

पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ तथा डिजेल र मट्टितेलमा पाँच रुपैयाँले वृद्धि भएको छ। खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। आइतबार राति १२ बजेर एक मिनेटदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य समायोजन गरिएको निगमले जनाएको छ।

नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर तीन रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर पाँच रुपैयाँले महँगो भएको छ। हवाई इन्धनको आन्तरिक मूल्य प्रतिलिटर २० रुपैयाँले बढेको छ भने अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर १३१ ले वृद्धि भएको छ।

इण्डियन आयल कर्पोरेसनले ३१ जुलाई, २०२६ मा पठाएको नयाँ खरिद मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर २० रुपैयाँ १९ पैसा, डिजेलको ३९ रुपैयाँ ६७ पैसा र हवाई इन्धनको प्रतिलिटर १९ रुपैयाँ छ पैसाले बढेर आएको निगमको भनाइ छ।

नयाँ खुद्रा मूल्य कायम

नयाँ मूल्यसूचीअनुसार काठमाडौं, पोखरा र दिपायलमा पेट्रोल र डिजेलको खुद्रा मूल्य प्रतिलिटर २०० रुपैयाँ पुगेको छ। सुर्खेत र दाङमा भने प्रतिलिटर १९९ रुपैयाँ कायम भएको छ। चारआली, विराटनगर, जकपुर, अमलेखगन्ज, भलवारी, धनगढी र वीरगन्जमा पेट्रोल र डिजेल प्रतिलिटर १९७ रुपैयाँ ५० पैसा पर्ने भएको छ। खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखिएको निगमले जानकारी दिएको छ।

पाक्षिक घाटा कायमै

यसअघि पेट्रोल प्रतिलिटर १९७ रुपैयाँ र डिजेल तथा मट्टितेल प्रतिलिटर १९५ रुपैयाँमा बिक्री भइरहेको थियो। नयाँ खुद्रा मूल्य समायोजन गर्दा पनि निगमलाई पाक्षिक रूपमा करिब एक अर्ब ४९ करोड रुपैयाँ बराबरको घाटा हुने आइतबार जारी विज्ञप्तिमा उल्लेख छ।