निजामती सेवा अस्पताल (सिभिल अस्पताल) मा कम्प्युटर प्रणाली (सिस्टम) डाउन भएपछि बिहानैदेखि ओपिडीको टिकट लिन आइपुगेका सेवाग्राहीले निकै सास्ती खेप्नुपरेको छ। प्रणाली ठप्प हुँदा सेवा अवरुद्ध भएपछि अस्पताल परिसरमा केहीबेर नाराबाजीसमेत भएको छ।
बिहान ४ बजेदेखि लाइनमा सेवाग्राही
उपचारका लागि बिहान ४ बजेदेखि नै ओपिडीको टिकट लिन सेवाग्राही लाइनमा बसेका थिए। सामान्यतया बिहान ७ बजेबाट सञ्चालन हुने टिकट काउन्टर नखुलेपछि उनीहरूले प्रशासनलाई यसबारे जानकारी मागेका थिए। सिस्टम डाउन भएको जानकारी पाएपछि केहीबेर हंगामा र नाराबाजी भएको हो।
टिकट लिनका लागि बिहानैदेखि अस्पतालमा भिड लाग्ने गर्छ। टाढाबाट उपचारका लागि आएका सेवाग्राहीलाई भने सिस्टम डाउनले थप समस्या पैदा गरेको छ।
प्रशासनको जानकारी
अस्पताल प्रशासनले भने यो समस्या चाँडै समाधान गरी सेवा सुचारु गर्ने जनाएको छ।
